८ महिनामा निर्जिवन बीमा कम्पनीले गरे ३१ अर्ब ७० करोडको व्यवसाय, १३ प्रतिशत वृद्धि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

८ महिनामा निर्जिवन बीमा कम्पनीले गरे ३१ अर्ब ७० करोडको व्यवसाय, १३ प्रतिशत वृद्धि



काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको ८ महिनाको अवधिमा नेपालमा सञ्चालित निर्जिवन बीमा कम्पनीहरूको व्यवसायमा उत्साहजनक सुधार देखिएको छ । प्राप्त पछिल्लो तथ्याङ्क अनुसार यस अवधिमा १४ वटा निर्जिवन बीमा कम्पनीहरूले कुल ३१ अर्ब ७० करोड २३ लाख ९३ हजार रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो व्यवसायिक आकारमा १३.११ प्रतिशतको वृद्धि हो । गत वर्ष फागुन मसान्तसम्म निर्जिवन बीमा कम्पनीहरूले कुल २८ अर्ब २ करोड ८८ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । समग्र बजारको यो वृद्धिले नेपाली निर्जिवन बीमा क्षेत्र विस्तारको लयमा रहेको पुष्टि गर्दछ ।

सबैभन्दा बढी शिखरको आक्रमक व्यवसाय
तथ्याङ्क अनुसार फागुन २०८२ सम्मको अवधिमा अधिकांश कम्पनीहरूको व्यवसायमा सकारात्मक सुधार देखिएको छ । बजारमा सबैभन्दा बढी हिस्सा ओगट्न सफल शिखर इन्स्योरेन्सले यस अवधिमा ४ अर्ब ३८ करोड ५४ लाख २५ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्दै आफ्नो अग्रता कायम राखेको छ । गत वर्ष यस कम्पनीले ४ अर्ब १ करोड ३९ लाख ५६ हजार रुपैयाँ संकलन गरेको थियो । जुन ९.२५ प्रतिशतको वृद्धि हो ।

त्यस्तै, दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ संकलन गरेको छ भने तेस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २० करोड ८५ लाख ९४ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २ अर्ब ७९ करोड २१ लाख १९ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स २ अर्ब ६८ लाख ४७ लाख ५३ हजार रुपैयाँ संकलन गर्दै क्रमश: चौथो र पाँचौ स्थानमा रहेका छन् ।

साथै, एनएलजी इन्स्योरेन्सको २ अर्ब ५३ करोड २५ लाख १० हजार, नेको इन्स्योरेन्सको २ अर्ब ३९ करोड ५४ लाख ८३ हजार, युनाइटेड अजोड इन्स्योरेन्सको १ अर्ब ९६ करोड २९ लाख १३ हजार, दि ओरिएन्टल इन्स्योरेन्सको १ अर्ब ९४ करोड ३६ लाख ९३ हजार, सानिमा जिआईसी इन्स्योरेन्सको १ अर्ब ७८ करोड ५९ लाख ८९ हजार रुपैयाँ व्यवसाय गरेका छन् ।
त्यस्तै, ८ महिनामा नेपाल इन्स्योरेन्सको १ अर्ब ४९ करोड ६१ लाख ७० हजारको, प्रभु इन्स्योरेन्सको १ अर्ब २१ करोड ४२ लाखको, राष्ट्रिय बीमा कम्पनीको १ अर्ब ६ करोड ३३ लाख ३१ हजार रुपैयाँको र नेशनल इन्स्योरेन्सको ८६ करोड ८७ लाख ६६ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

१३ वटा कम्पनीको व्यवसाय बढ्दा राष्ट्रिय बीमाको भने घट्यो
तथ्याङ्कलाई विश्लेषण गर्दा १४ मध्ये १३ वटा कम्पनीको व्यवसाय बढेको छ भने एउटा सरकारी स्वामित्वको कम्पनीको व्यवसायमा भने गिरावट देखिएको छ । गत वर्ष फागुनको तुलनामा सबैभन्दा धेरै रकमका आधारमा व्यवसाय बढाउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स देखिएका छन् ।

व्यवसाय वृद्धि गर्ने अन्य कम्पनीहरूमा युनाइटेड अजोड २२.७९ प्रतिशत, दि ओरिएन्टल १४.१ प्रतिशत, सानिमा जिआईसी १३.६८ प्रतिशत, र नेशनल इन्स्योरेन्स १३.६ प्रतिशत रहेका छन् । यी कम्पनीहरूले दोहोरो अंकको वृद्धि हासिल गर्दै समग्र बजारको औसत वृद्धिलाई सघाएका छन् ।

यद्यपि, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको व्यवसायमा भने २.७९ प्रतिशतको गिरावट आएको छ ।
गत वर्ष फागुन मसान्तसम्म १ अर्ब ९ करोड ३८ लाख ७१ हजार रुपैयाँ संकलन गरेको यस कम्पनीले यस वर्ष सोही अवधिमा घटेर १ अर्ब ६ करोड ३३ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । यो तथ्याङ्कले निजी क्षेत्रका कम्पनीहरू आक्रामक रुपमा अगाडि बढिरहँदा सरकारी कम्पनीले भने चुनौती खेपिरहेको संकेत गर्दछ ।

बढी ग्रोथ गर्नेमा हिमालयन एभरेष्ट
प्रतिशतका आधारमा वृद्धि दरलाई हेर्ने हो भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा लोभलाग्दो प्रगति गरेको छ । यस कम्पनीले ४५.१५ प्रतिशतको छलाङ मार्दै आफ्नो व्यवसायलाई २ अर्ब २१ करोड ५ लाख ७९ हजारबाट बढाएर ३ अर्ब २० करोड ८५ लाख ९४ हजार पुर्याएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले पनि ३६.२२ प्रतिशतको उच्च वृद्धि हासिल गरेको छ । जसको व्यवसाय १ अर्ब ८५ करोड ९१ लाख २६ हजारबाट बढेर २ अर्ब ५३ करोड २५ लाख १० हजार रुपैयाँ पुगेको छ ।

सबैभन्दा कम सकारात्मक वृद्धि गर्ने कम्पनीहरूमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेका छन् । सगरमाथा लुम्बिनीको वृद्धि दर मात्र १.३२ प्रतिशत छ भने सिद्धार्थ प्रिमियरको वृद्धि १.३९ प्रतिशतमा सीमित भएको छ । यी कम्पनीहरूले ठूलो व्यवसायिक आकार कायम राखे पनि वृद्धि दरमा भने सुस्तता देखिएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको वृद्धि ४.५४ प्रतिशत र नेपाल इन्स्योरेन्सको ६.६९ प्रतिशत रहेको छ ।

निर्जिवन बीमा बजारले ८ महिनामा ३१ अर्ब ७० करोड माथिको व्यवसाय गरेर अर्थतन्त्रमा आफ्नो बलियो उपस्थिति जनाएको छ । हिमालयन एभरेष्ट र एनएलजी जस्ता कम्पनीले बजारमा आक्रामक विस्तार गरिरहँदा पुराना र ठूला कम्पनीहरूले भने आफ्नो बजार जोगाउन संघर्ष गरिरहेको यो तथ्याङ्कले प्रष्ट पार्छ ।


प्रतिक्रिया दिनुहोस्