चैते दशैँको स्मृतिभित्र लुकेको व्रह्माण्डीय चक्र
अघिल्लो दशकको शुरुदेखि नै नेपालमा केही ज्योतिषी र पञ्चाङ्गकारहरुले ‘मौसम अनुसार पात्रो मिलाउनु पर्छ’ भनेर विभिन्न पैरवीका गतिविधी गर्दै आएका छन् । तर चैते दशैँको यो स्मरणले भन्छ– ‘हामीले ऐतिहासिक कालदेखि मौसम अनुसार पर्व मनाउने समय फेरेका छौँ, तर व्रह्माण्डको घडी देखाउने पञ्चाङ्गको गणना फेरेका छैनौँ ।’ यो ऐतिहासिक प्रमाणले ‘पात्रो फेर्ने’ प्रस्तावलाई ‘सिरे से खारिज’ गरिदिएको छ ।
हिउँदभरीको सुख्खा खँडेरी र आकाश ढाक्ने तुवाँलोमाथि विजय हासिल गरेको तीन दिने वर्षा अब रोकिएको छ । आकाश सफा छ, र बतासमा एउटा अनौठो तातोपन मिसिन थालेको छ। सायद, गाउँका चौताराहरुले हावाको तरङ्गसँग पौडँदै गज्जबका सुस्केरा हाल्न थालेका हुँदाहुन् । यही बखत टुप्लुक्क आइपुगेको छ– चैते दशैँ ।
हामी बालख हुँदा गाउँघरमा यसको नाम अर्को पनि थियो– ‘सानो दशैँ’ । अचेल यो दशैँको महत्व ज्यादा छैन । पहाडका मानिसहरु अष्टमीको दिन मासु खान्छन् । मासु नखानेले पनि मीठोमसिनो पकाएर खान्छन् । भोलिपल्ट रामनवमी परेकाले धेरैले त्यस दिन माछामासुजस्ता तामसी भोजन गर्दैनन् । त्यसैले यो दशैँ ‘एक दिने पर्व’ बनेको छ ।
तर, यो पर्व अहिलेजस्तो ‘एक्लो र निरिह’ सधैँभरी थिएन । चैते दशैँ हाम्रो पूर्वीय सभ्यताको एउटा त्यस्तो पर्व हो, जसले हजारौँ वर्षदेखि व्रम्हाण्डीय चाल र धर्तिमा मौसमलाई नियालिरहेको छ ।
हाम्रो पात्रोलो संसारको सृष्टि भएको ‘१ अर्ब ९५ करोड ५८ लाख ८५ हजार वर्षभन्दा पनि धेरै भयो’ भन्छ । कलियुग सुरु भएको ५१२६ वर्ष पुग्दै छ । तर आधुनिक विज्ञानले पृथ्वीको कुल आयु ४.५ अर्ब वर्ष मान्छ । साढे ३ अर्ब वर्ष पहिले नै ब्याक्टेरिया र आर्कियाजस्ता एक कोषीय जीवहरुको उत्पत्ति भइसकेको विज्ञानले भनेको छ । ‘साइनोब्याक्टेरिया’ प्रकाश पिएर अक्सिजन फाल्न थालेको पनि २.४ अर्ब वर्ष भइसक्यो भन्ने वैज्ञानिक मान्यता छ ।
तर बोट विरुवा, पशुपन्छी र मानिस बन्नका लागि जुन जटिल कोष (युक्यारियोटिक कोष) आवस्यक पर्छ, त्यसको विकास चाहीँ हाम्रो पत्रोले ‘सृटि’को कालखण्ड बताएकै बेलातिर भएको भनेर आधुनिक विज्ञानले मानेको छ । पहिलेका जीवमा न्यूक्लियस हुँदैन थ्यो, त्यो बन्न थालेको करीब १.५ अर्बदेखि २ अर्ब वर्षको बीचमा हो भन्ने विज्ञानको मत छ ।
मैले यो हिसाब किन उतारेको भने, हाम्रा पर्वहरु साँच्चै कति पुराना होलान् भन्नेमा मतैक्य छैन । मानवशास्त्रीहरूको भनाइ मान्ने हो भने मानिसहरुले सामूहिक उत्सवहरू मनाउन थालेको कम्तिमा १० हजार वर्ष र बढीमा ३० हजार वर्ष भयो। आजको टर्की देशमा पर्ने गोबेक्ली टेपेलाई संसारको पहिलो ‘पर्व मनाउने थलो’ मानिन्छ ।
हामीले मनाउने दशैँको इतिहास पनि ज्यादा छोटो छैन । किनकी, आदीम मानिसहरुले शक्ति र प्रकृतिको पूजा गर्ने र मासु खाने पर्व संसारका सबैजसो भागमा देखिन्छ । मासिनहरु जंगली युगमै हुँदादेखि नै यस्ता पर्व मनाउन थालेको पाइन्छ । अब यसलाई चैते दशैँको कहानीसँग जोडौँ ।
सानो छँदा गाउँघरका हजुरबाहरुले भन्ने गरेको सुनिन्थ्यो, ‘उहिले त ठूलो दशैँ नै चैतमा मनाउँथे रे । पछि गर्मी चढेर मासु नपच्ने, हैजा लाग्ने भएपछि असोजमा सारेको हो रे ।’
यो कहानीले मलाई रिंगाउँथ्यो । चैतको टन्टलापुर घाम र तातो हालाको सुस्केरामा दशैँ मनाउन सुरु चाहीँ किन गरे होला ? यो केवल बूढापाकाको ‘हावादारी कहानी’ वा ‘धुमिल स्मृति’ हुँदो हो ।
तर, जब हामीले यसलाई खगोलीय गणितको हिसाबसँग दाँज्यौँ, तब एउटा यस्तो रहस्य खुल्यो कि, त्यसले आधुनिक विज्ञानलाई पनि नतमस्तक बनाइदिन्छ। अनि पो थाहा भो– यो केवल एउटा पर्वको कथा होइन, यो त पृथ्वीको अक्ष, ताराहरुको अनवरत यात्रा र हाम्रा पुर्खाहरुले हजारौँ वर्षदेखि जोगाएर राखेको ब्रह्माण्डिय सूत्रको एउटा जीवन्त दस्तावेज रहेछ । ओहो ! जनश्रुतिमा आधारित हाम्रो ज्ञानको हस्तान्तरण कति भव्य ?
व्रह्माण्डको घडी
हाम्रो तन्त्र र पुराणहरुले शक्ति आरधनाका लागि वर्षदिनमा चारवटा नवरात्रिको व्याख्या गर्छन्- चैत (वासन्ती), असोज (शारदीय) र दुईवटा (असार र माघ) गुप्त नवरात्र। तर, इतिहासमा एउटा यस्तो कालखण्ड थियो, जतिबेला चैत महिना आजको जस्तो डढेलो लाग्ने गर्मीको महिना थिएन।
तपाईं आजभन्दा करिब १३ हजार वर्ष अगाडि जानु भयो भने त्यस बखत पृथ्वीको उत्तरी ध्रुव अर्कैतिर फर्किएको थियो । हामीले सुत्ने बेलामा ‘शीरानी कता राख्ने’ भनेजस्तै पृथ्वीले पनि बारम्बार आफ्नो शीरानी अर्थात् ध्रुवतारा बदलिरहेको हुन्छ । २३.५ डिग्री ढल्किएर ‘भुरुङ’ जस्तै घुम्ने पृथ्वीको उत्तरी ध्रुवले एउटा छुट्टै वृत्त बनाउँछ, जुन पुरा हुन २५,७७२ वर्ष लाग्छ ।
त्यही बृत्तमा ढल्किँदा पृथ्वीको उत्तरी ध्रुवको सीधा माथि जुन तारा देखिन्छ, हामी त्यसैलाई ‘ध्रुवतारा’ भन्छौँ । करीब १५०० वर्षदेखि हामीले ‘पोलारिस’ तारालाई ध्रुवतारा मानिरहेका छौँ । अझै १००० वर्ष हाम्रो ध्रुवतारा त्यही नै रहन्छ । तर आजभन्दा १३ हजार वर्ष अघि र अबको १३ हजार वर्ष पछि पनि अभिजित नक्षत्र (पश्चिमाहरुले भेगा नाम दिएका छन्) हाम्रो ध्रुवतारा थियो/हुन्छ । त्यति बेला ध्रुवतारा बदलिनुको मतलव पृथ्वीले पनि ‘कोल्टे फेर्नु’ हो ।
समयले कोल्टे फेर्यो, समाजले दशैँ
जतिबेला अभिजित नक्षर हाम्रो ध्रुवतारा बन्छ, त्यस बखत चैतमा अहिलेजस्तो गर्मी हुँदैन । ठ्याक्कै असोजमा जस्तो शितल मौसम, ओसिलो हावा र मोहक वातावरण हुन्छ । १३ हजार वर्ष पहिले पनि ठ्याक्कै त्यस्तै थियो । सायद हाम्रा आदिम पुर्खाहरुले त्यही शितल चैतमा ‘ठूलो दशैँ’को जग बसालेका हुँदाहुन् । हजारौँ वर्षसम्म त्यो पर्व त्यसरी नै चल्यो होला ।
समयको गतिसँगै पृथ्वीको अक्ष बिस्तारै डगमगायो। हरेक ७२ वर्षमा एक डिग्रीका दरले धर्तिको शीर सर्दै जाँदा चैतको त्यो शितलता बिस्तारै रापिलो गर्मीमा बदलिन थाल्यो। आजभन्दा २०००–३००० वर्ष अगाडी आइपुग्दा चैतमा औधि गर्मी हुन थाल्यो । अचेलको वैशाख–जेठजस्तै । त्यसैले मानिसहरु मासु पचाउन नसक्ने भए । मावन स्वास्थ्यमा गम्भीर संकट आउन थाल्यो।
गर्मीमा महामारी फैलने र पाचन प्रणाली बिग्रने भएपछि हाम्रा दार्शनिक पुर्खाहरुले एउटा साहसिक र वैज्ञानिक निर्णय लिए। उनीहरुले ब्रह्माण्डको गणितलाई हेरे । प्राकृति र मानव स्वास्थ्यबीचको सन्तुलन मिलाउन चैतको दशैँ सारेर असोजमा पुर्याए । तर त्यो जानकारी हजारौँ वर्ष पछिसम्म आफ्ना सन्ततीमा हस्तान्तरण गर्न विर्सिएनन् ।
चञ्चल मौसम र पर्वको अनुकुलन
ये दशैँको कथामात्रै होइन, हामीले पल्टाउने क्यालेन्डर र त्यसको अस्तित्वसँग पनि जोडिन्छ । अचेल मौसममा आएको बदलावसँगै ‘पात्रो मिलाउनु पर्छ’ भन्ने बहस खुब उठेको देखिन्छ । सायद तपाइँमध्ये धेरैलाई थाहा छैन होला, पश्चिमा क्यालेन्डर र हाम्रो हिन्दू पञ्चाङ्गमा के भिन्नता छ ?
पश्चिमाहरुले सूर्य र ऋतुलाई मात्र समाते, तर हाम्रा पुर्खाहरुले ‘तारा’ (नक्षत्र)लाई सवोच्च महत्व दिए । सूर्य र चन्द्रमाको गणना पनि उत्तिकै मीहिन गरिकाले गरे । ताराहरु ब्रह्माण्डका ती अकण्टक साक्षी हुन्, जो हजारौँ वर्षसम्म बदलिँदैनन्। त्यसैले हाम्रो पञ्चाङ्गले सूर्यको स्थितिलाई मात्र होइन, ती स्थायी ताराहरुको अवस्थितिलाई पनि गणना गर्छ।
पश्चिमा क्यालेन्डरले मौसमलाई महिनासँग टाँसेर राख्न खोज्दा ब्रह्माण्डको वास्तविक नक्सा गुमायो। तर हिन्दू सिद्धान्तले बुझे– ‘मौसम त चञ्चल छ । नक्षत्रहरु स्थायी छन् ।’ त्यसैले हामीले सूर्य र नक्षत्रहरुको अन्तरसम्बन्धलाई ‘महिना’ बनायौँ । पश्चिमाले धर्ति र सूर्यको चक्रलाई महिनाले परिभाषित गरे ।
हामीले ताराहरुको गणनालाई कहिल्यै तलमाथि हुन दिएनौँ। ब्रह्माण्डको त्यो सूक्ष्म गणितलाई अविच्छिन्न राखिरह्यौँ। बरु, मौसम बदलिँदा त्यसै अनुसार हामीले दशैँजस्ता आफ्ना महान् पर्वहरुलाई नयाँ ऋतुमा अनुकूलन गर्यौँ । यो नै पूर्वीय सभ्यताको त्यो महानता हो, जहाँ गणित कहिल्यै मर्दैन, बरु संस्कृतिले त्यसलाई अनवरत पछ्याइरहन्छ।
चैतको पुनरागमन !
आज हामी फेरि एउटा अनौठो मोडमा छौँ। असोजमा अचेल ‘हिले दशैँ’ हुन थालेको छ, मानौँ वर्षा ऋतुले विस्तारै शरदलाई निल्दैछ। जलवायु परिवर्तन त छँदै छ, समय पनि बदलिँदै छ । हामीले २० हजार वर्षको इतिहासलाई सर्रर एउटा सिनेमा हेरेझैँ नियाल्यौँ भने देख्छौँ- यो त एउटा निरन्तर कुमालेको चक्र हो।
अबको केही हजार वर्षपछि चैत फेरि उस्तै शितल र लोभलाग्दो हुन थाल्ने छ। हाम्रा सन्ततिहरुले सायद त्यतिबेला फेरि भन्नेछन्, ‘अब दशैँलाई असोजबाट फेरि चैततिरै फर्काउनु पर्छ ।’
हजुरबाले सुनाउनुभएको त्यो कथा कुनै दन्त्यकथा थिएन, बरु त्यो त हजारौँ वर्षको खगोलीय यात्राको एउटा जीवन्त स्मृति थियो। हामी उत्सव मनाउने नाममा ब्रह्माण्डको नियम मिच्ने जाति होइनौँ, हामी त ब्रह्माण्डको लयमा आफ्नो जीवनको गीत गाउने सभ्यता हौँ। भोलिको चैते दशैँले हामीलाई यही विराट सत्यको स्मरण गराइरहनेछ।
















