मानसिक स्वास्थ्यमा खेलबाड गरेकाे भन्दै मेटा र युट्युब दोषी ठहर, अदालतले ताेक्याे ३० लाख डलर क्षतिपूर्ति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मानसिक स्वास्थ्यमा खेलबाड गरेकाे भन्दै मेटा र युट्युब दोषी ठहर, अदालतले ताेक्याे ३० लाख डलर क्षतिपूर्ति



काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतले सामाजिक सञ्जालका प्रमुख कम्पनीहरू मेटा र युट्युबलाई बालबालिकामा जानाजानी लत बसालेको र उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर चोट पुर्‍याएको भन्दै दोषी ठहर गरेको छ।

लस एन्जलस सुपेरियर कोर्टको जुरीले यी टेक जायन्टहरूले आफ्ना प्लेटफर्मको डिजाइन खतरनाक भएको जान्दाजान्दै पनि प्रयोगकर्तालाई सचेत नगराएको र लापरवाही गरेको निष्कर्ष निकालेको छ।

सात हप्ता लामो बहस र आठ दिनको छलफलपछि जुरीले बुधबार यो ऐतिहासिक फैसला सुनाएको सीएनएनले उल्लेख गरेको छ। यो मुद्दा केली नामकी २० वर्षीया युवतीले दायर गरेकी थिइन्, जसले बाल्यकालदेखि नै सामाजिक सञ्जालको लतका कारण आफूमा चिन्ता (एन्जाइटी), शारीरिक बनावटप्रति हीनताबोध र आत्मघाती विचारहरू विकास भएको दाबी गरेकी थिइन्।

अदालतले पीडित केलीलाई कुल ३० लाख डलर क्षतिपूर्ति दिन आदेश दिएको छ। यसका साथै, दण्डात्मक जरिवाना स्वरूप मेटाले २१ लाख डलर र युट्युबले ९ लाख डलर थप तिर्नुपर्ने भएको छ। केलीलाई भएको क्षतिमा मेटा ७० प्रतिशत र युट्युब ३० प्रतिशत जिम्मेवार रहेकाे अदालतकाे ठहर छ।

केलीले अदालतमा बयान दिँदै अहिले वयस्क भइसक्दा पनि आफू यो लतबाट मुक्त हुन नसकेको र कामको बीचमा लुकेर मोबाइल चलाउनु पर्ने तथा फिल्टरहरू प्रयोग गरेर आफ्नो अनुहार बिगार्ने बाध्यता अझै कायम रहेको बताएकी थिइन्। उनले सुरुमा मेटा, युट्युब, स्न्यापच्याट र टिकटक विरुद्ध मुद्दा हालेकी थिइन्, तर स्न्याप र टिकटकले भने ट्रायलअघि नै अदालत बाहिर सहमति गरिसकेका छन्।

यस फैसलाप्रति मेटा र युट्युबले असहमति जनाउँदै माथिल्लो अदालतमा पुनरावेदन गर्ने बताएका छन्। मेटाका प्रवक्ताले किशोरीहरूको मानसिक स्वास्थ्य एक जटिल विषय भएकाे भन्दै यसलाई एउटै एपसँग मात्र जोड्न नमिल्ने बताएका छन्।

यस्तै, गुगलका प्रवक्ता जोसे कास्टानेडाले युट्युब सामाजिक सञ्जाल नभएर एक ‘स्ट्रिमिङ प्लेटफर्म’ भएको दाबी गर्दै अदालतले युट्युबको मर्म नबुझेको तर्क गरेका छन्।

ट्रायलका क्रममा इन्स्टाग्रामका प्रमुख एडम मोगेरीले सामाजिक सञ्जालको प्रयोग ‘समस्याग्रस्त’ हुन सक्ने तर यो क्लिनिकली लत नभएको दाबी गरेका थिए। तर, अदालतमा पेश गरिएका आन्तरिक दस्ताबेजहरूले भने कम्पनीका कर्मचारी र विज्ञहरूले ‘ब्युटी फिल्टर’ ले हानि पुर्‍याउन सक्ने चेतावनी दिँदादिँदै पनि नाफाका लागि त्यसलाई निरन्तरता दिएको खुलासा गरेका थिए।

यो फैसलालाई सामाजिक सञ्जालको इतिहासमा एक निर्णायक मोड मानिएको छ। यसले अमेरिकाभर रहेका करिब १५०० भन्दा बढी यस्तै प्रकृतिका मुद्दाहरूलाई सिधै प्रभाव पार्ने देखिएको छ।

यसका साथै, विभिन्न विद्यालय र राज्यका महान्यायाधिवक्ताहरूले दायर गरेका सयौँ अन्य मुद्दाहरूको पनि यी कम्पनीहरूले सामना गर्नुपर्नेछ, जसलाई धेरैले ‘बिग टेक’ को ‘बिग टोबाको मोमेन्ट’ का रूपमा लिएका छन्।

यदि आगामी मुद्दाहरूमा पनि यस्तै फैसला आएमा प्रविधि कम्पनीहरूले अर्बौँ डलरको नोक्सानी बेहोर्नु पर्ने र आफ्ना प्लेटफर्म सञ्चालन गर्ने तरिकामा ठूलो फेरबदल गर्नुपर्ने दबाब सिर्जना हुनेछ।


प्रतिक्रिया दिनुहोस्