प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सिंहदरबारस्थित संसदको अस्थायी भवनमा आयोजित एक विशेष समारोहका बीच सांसदहरूले आफ्नो पाँच वर्षे कार्यकालका लागि औपचारिक रूपमा शपथ लिएका हुन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराए। केसीलाई यसअघि नै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिद्वारा शपथ गराइएको थियो।
यसपटकको शपथ ग्रहण समारोहमा नेपालको बहुजातीय र बहुभाषिक पहिचानको अनुपम दृश्य देखिएको छ। कुल सांसदमध्ये ६३ जनाले नेपाली भाषा बाहेकका विभिन्न मातृभाषामा शपथ लिएका छन्। सांसदहरू आ-आफ्नो जातीय पहिचान झल्कने परम्परागत भेषभूषामा सजिएर सिंहदरबार पुग्दा समारोह निकै रङ्गीन र समावेशी देखिएको थियो।
शपथ ग्रहणसँगै अब नयाँ प्रतिनिधिसभाको बैठक आह्वान गर्ने र सभामुख तथा उपसभामुख चयन गर्ने प्रक्रिया अगाडि बढ्नेछ।













