सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बन्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कमान सम्हाल्ने भएका छन् । रास्वपाले लम्साललाई सरकारको यो महत्त्वपूर्ण जिम्मेवारीमा पठाउने निर्णय गरेको हो ।
नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण लगत्तै आजै लम्सालले पनि मन्त्री पदको शपथ लिने तयारी छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्रीसँगै नयाँ मन्त्रिमण्डलका सदस्यहरूको पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ ।
शपथ ग्रहण कार्यक्रम सकिएलगत्तै नवनियुक्त मन्त्री लम्साल सिंहदरबार पुगेर आफ्नो पदभार ग्रहण गर्नेछन् । भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर उनले आजैदेखि कार्यभार सम्हाल्ने गरी तयारी पूरा भएको बुझिएको छ ।













