ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठ पक्का - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठ पक्का



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको मन्त्रिमण्डलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट २४ हजार ५९२ मतसहित लगातार दोस्रो पटक निर्वाचित श्रेष्ठ यसअघि युवा तथा खेलकुद मन्त्रीका रूपमा सफल कार्यकाल बिताइसकेका अनुभवी नेता हुन्।

व्यापार प्रशासनमा स्नातक गरेका श्रेष्ठको राजनीतिक यात्रा २०७४ सालमा बागमती प्रदेश सभा सदस्यबाट सुरु भएको हो। प्रदेश सांसद रहँदा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन र गुठी विधेयकविरुद्ध सडकदेखि सदनसम्म नेवा: समुदायको पक्षमा आवाज उठाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

२०७२ को महाभूकम्पपछि समाजसेवामा सक्रिय भएका उनले ‘फोर्स नेपाल’ मार्फत वातावरण संरक्षण र ‘वान ट्री–मेरो जिम्मेवारी’ जस्ता अभियानहरू सञ्चालन गर्दै भुइँतहका नागरिकसँग बलियो सम्बन्ध बनाएका छन्।

उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानबाट राजनीतिमा होमिएका श्रेष्ठसँग विधायक र छोटो समय मन्त्री बनेको अनुभव छ।

अब भने उनले देशको आर्थिक मेरुदण्ड मानिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व सम्हाल्दै जलविद्युत् र सिँचाइ क्षेत्रमा नयाँ योजनाहरू अघि बढाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्