देउवाले विदेशबाटै दिए नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

देउवाले विदेशबाटै दिए नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई



काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह मुलुकको कार्यकारी प्रमुखमा नियुक्त भएको खुसीयालीमा देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बधाइ सन्देश दिएका हुन् ।

हाल उपचारका लागि विदेशमा रहेका देउवाले प्रधानमन्त्री बालेनका साथै शुक्रबार नै शपथ ग्रहण गरेका नवनियुक्त मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई पनि बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्। उनले नयाँ सरकारले जनअपेक्षा अनुसार काम गर्न सकोस् भन्दै शुभकामना दिएका हुन्।

२०८१ असार १७ गते नेकपा एमालेसँग भएको सत्ता समीकरणको सहमति अनुसार यस समयमा देउवा स्वयं प्रधानमन्त्रीको कुर्सीमा हुनुपर्ने थियो। तर, गत भदौ २३ र २४ गते भएको जनआन्दोलनको जगमा बदलिएको राजनीतिक समीकरणका कारण करिब दुईतिहाइ बहुमतसहित बालेन शाह प्रधानमन्त्रीमा निर्वाचित हुन सफल भएका हुन्।


प्रतिक्रिया दिनुहोस्