५ जना सवार मुस्ताङ एयरको हेलिकप्टर रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन
काठमाडौँ । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा पाइलटसहित पाँच जना सवार एक हेलिकप्टर सम्पर्कविहीन भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त हेलिकप्टर आज दिउँसो साढे १ बजेदेखि टावरसँगको सम्पर्कभन्दा बाहिर गएको हो।
सम्पर्कविहीन भएको क्षेत्र दुर्गम र टेलिफोन सञ्चारको पहुँचभन्दा बाहिर रहेकाले घटनाको विस्तृत विवरण प्राप्त हुन कठिन भइरहेको छ। प्राधिकरण र सुरक्षा निकायहरूले हेलिकप्टरको अवस्था पत्ता लगाउन प्रयास गरिरहेका छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले घटनाको पुष्टि गर्दै यसबारे थप बुझ्ने काम भइरहेको जानकारी दिएका छन्। माथिल्लो क्षेत्रमा रहेका नेपाली सेना र प्रहरीका एकाइहरूसँग समन्वय भइरहेकाे उनले बताए ।













