अथरको रिज्टा ‘एस’ नेपालमा सार्वजनिक, मूल्य कति ?
काठमाडौँ । नेपालमा अथर एनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले आज नयाँ इलेक्ट्रिक स्कुटर अथरको रिज्टा ‘एस’ सार्वजनिक गरेको छ ।
आकर्षक प्रारम्भिक मूल्यसहित बजारमा आएको यो मोडेलले गत वर्ष सार्वजनिक भएको अथरको रिज्टा ‘जेठ’ को सफलतापछि लाइन–अपलाई थप मजबुत बनाएको जनाएको छ ।
कम्पनीले पहिलो १५० ग्राहकका लागि २० हजार छुटको अफर उपलब्ध गराएको छ, जसले रिज्टा ‘एस’ को प्रभावकारी मूल्य २ लाख ७४ हजार ९ सय ९९ पर्नेछ ।
अथरका सिइओ सुर्यांश वैद्यले भने, ‘रिज्टा एस लाई प्रत्येक नेपाली परिवारका लागि इलेक्ट्रिक मोबिलिटीलाई सरल, व्यवहारिक र पहुँचयोग्य बनाउन डिजाइन गरिएको हो । यसको डिजाइन, प्रदर्शन र अथर एसुरेन्स प्याकेजले ग्राहकहरूको वास्तविक चिन्तालाई सम्बोधन गर्नेछ ।’
कम्पनीका अनुसार रिज्टा एस मा २.७ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ, जसले १२३ किलोमिटरको आइडीसी रेन्ज प्रदान गर्छ । यस स्कुटरले ४.३ किलो वाटको पीक पावर उत्पादन गर्ने क्षमता राख्छ भने २२ न्युटन मिटर टर्क उपलब्ध गराउने बताइएको छ ।
यसको अधिकतम गति ८० किलो प्रतिघण्टा सम्म पुग्नेछ । स्कुटरले ० देखि ४० किलो प्रतिघण्टासम्मको गति ४.७ सेकेन्डमै हासिल गर्ने कम्पनीले उल्लेख गरेको छ ।
यात्रुहरूको सहजतालाई ध्यानमा राख्दै यसमा फराकिलो सिट, ठुलो स्टोरेज स्पेस र प्रशस्त फुटबोर्ड सुविधा दिइएको छ। साथै, सुरक्षाका लागि अटो होल्ड, फल सेफ र आकस्मिक स्टप सिग्नल जस्ता आधुनिक प्रविधि समावेश गरिएको छ ।
यी प्राविधिक विवरणहरूले रिज्टा ’एस’ लाई नेपाली बजारमा परिवार र दैनिक यात्रुहरूका लागि उपयुक्त इलेक्ट्रिक स्कुटरको रूपमा प्रस्तुत गरेको बताइएको छ ।
अथर एसुरेन्सको प्याकेज उपलब्ध
नेपालमा सार्वजनिक गरिएको अथर रिज्टा ‘एस’ लाई थप आकर्षक बनाउन कम्पनीले अथर एसुरेन्सको प्याकेज उपलब्ध गराएको छ। यसले ग्राहकलाई दीर्घकालीन भरोसा, सजिलो चार्जिङ सुविधा र भरपर्दो सेवा अनुभव दिलाउने उद्देश्य राखिएको छ ।
कम्पनीका अनुसार, अथर रिज्टा ‘एस’ मा जडान गरिएको ब्याट्रीमा ३ वर्ष वा ३०,००० किलोमिटरको वारेन्टी दिइएको छ । यो सुविधा ५ वर्ष वा ६०,००० किलोमिटरसम्म विस्तार गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, नेपालभर ३५ वटा सार्वजनिक फास्ट चार्जर स्थापना गरिएको छ, जुन दुई–पहिया इलेक्ट्रिक सवारीका लागि सबैभन्दा ठुलो नेटवर्क मानिन्छ । ग्राहकहरूले १ वर्षसम्म निःशुल्क चार्जिङ सुविधा पाउनेछन् ।
कम्पनीका अनुसार देशभर रहेका अथर एक्सपियरियन्स सेन्टरमा सीमित अवधिका लागि वार्षिक मर्मत सम्झौतामा २० प्रतिशत छुट दिइएको छ ।
वैद्य इनर्जीले यी सुविधाले ‘रिज्टा एस’ लाई नेपाली बजारमा इलेक्ट्रिक स्कुटर अपनाउन चाहने ग्राहकका लागि व्यवहारिक र भरपर्दो विकल्पको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।













