पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक निजी निवासबाटै पक्राउ
काठमाडौं । नयाँ सरकार गठनसँगै राजनीतिक वृत्तमा ठूलो हलचल पैदा भएको छ। सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निजी निवासबाटै नियन्त्रणमा लिएको हो। उता, पूर्वगृहमन्त्री लेखकलाई पनि आजै बिहान भक्तपुरकै कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको पुष्टि भएको छ। दुवै नेतालाई पक्राउ गर्न प्रहरी टोली मध्यरातदेखि नै परिचालित भएको थियो।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनमा भएको दमनबारे छानबिन गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आयोग गठन गरेको थियो। उक्त आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो।
शुक्रबार बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। लगत्तै गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुख र कानुन मन्त्रालयका सचिवसँग रातभर छलफल गरी पक्राउको प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। यद्यपि, सरकारले उक्त प्रतिवेदन हालसम्म आधिकारिक रूपमा सार्वजनिक भने गरिसकेको छैन।













