युद्ध अन्त्य गर्न इरानको नयाँ माग, जसले बनाउन सक्छ विश्व अर्थतन्त्रलाई नै 'बन्धक' - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

युद्ध अन्त्य गर्न इरानको नयाँ माग, जसले बनाउन सक्छ विश्व अर्थतन्त्रलाई नै ‘बन्धक’



काठमाडौं । अमेरिका र इजरायलसँगको जारी युद्ध अन्त्यका लागि इरानले एक नयाँ र शक्तिशाली सर्त अघि सारेको छ। इरानी अधिकारीहरूले यसपटक विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग ‘स्ट्रेट अफ हर्मोज’ मा आफ्नो पूर्ण सार्वभौमसत्ताको माग गरेका छन्।

विश्वको कुल खपत हुने तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को पाँचौँ हिस्सा ओसार्ने यो साँघुरो जलमार्गलाई इरानले अहिले विश्व अर्थतन्त्रमाथि दबाब दिने सबैभन्दा ठूलो हतियार बनाएको छ।

इरानले यस मार्गलाई केवल रणनीतिक दबाबको केन्द्र मात्र नभई, वार्षिक अर्बौँ डलर आम्दानी हुने स्रोतमा बदल्न खोजेको देखिएको छ।

विश्व अर्थतन्त्रलाई ‘बन्धक’ बनाउने रणनीति

विगतमा आक्रमण भएमा यो जलमार्ग बन्द गरिदिने धम्की दिँदै आएको इरानले यसपटक विश्व व्यापारमा आफ्नो अवरोध कति प्रभावकारी हुन्छ भन्ने कुरा प्रमाणित गरिदिएको छ। इरानी आक्रमणका कारण यस मार्गबाट हुने ढुवानी लगभग ठप्प भएपछि विश्वभर ऊर्जा संकट चुलिएको छ।

इरानको यो मागले विश्व अर्थतन्त्रलाई मुख्य दुई तरिकाले ‘बन्धक’ बनाउन सक्ने देखिन्छ। पहिलो, यदि इरानले हर्मोज जलमार्गमा आफ्नो नियन्त्रण कायम गरी ढुवानीमा अवरोध पुर्‍याएमा विश्व बजारमा इन्धनको मूल्य आकाशिनेछ, जसले गर्दा ढुवानी खर्च बढेर हरेक उपभोग्य वस्तुको मूल्य वृद्धि (महँगी) हुनेछ।

दोस्रो, इरानले चाहेको बेला जलमार्ग बन्द गरेर वा जहाज रोकेर कुनै पनि देशको अर्थतन्त्रलाई घुँडा टेकाउन सक्ने ‘ब्ल्याकमेलिङ’ को शक्ति प्राप्त गर्नेछ। यसले गर्दा विश्वका शक्तिशाली राष्ट्रहरू पनि आफ्ना औद्योगिक र ऊर्जा आवश्यकताका लागि तेहरानको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुन सक्छ।

इरानको यो कदमप्रति अमेरिकाले कडा आपत्ति जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मोजमा ‘टोल’ (महसुल) प्रणाली लागू गर्न खोजेको भन्दै चेतावनी दिएका छन्। फ्रान्समा भएको जी७ बैठकपछि रुबियोले भने, ‘यो अवैध मात्र होइन, विश्वका लागि खतरनाक र अस्वीकार्य छ। विश्वले यसको सामना गर्न योजना बनाउनु आवश्यक छ।’

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले पनि आफ्नो पहिलो सम्बोधनमा यो जलमार्ग अवरुद्ध पार्न सक्ने शक्तिलाई निरन्तर प्रयोग गर्नुपर्ने बताएका छन्। इरानी संसदमा अहिले एउटा विधेयक विचाराधीन छ, जसले यो मार्ग प्रयोग गर्ने जहाजहरूबाट अनिवार्य शुल्क उठाउने व्यवस्था गर्नेछ।

स्वेज नहर भन्दा ठूलो आम्दानीको दाउ

यदि इरान आफ्नो यो ‘टोल’ प्रणालीमा सफल भयो भने, उसको आम्दानी इजिप्टको स्वेज नहरको बराबर वा सोभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। सामान्यतया यस मार्गबाट दैनिक २ करोड ब्यारेल कच्चा तेल ओसारपसार हुन्छ।

यदि एउटा ट्याङ्करबाट २० लाख डलर शुल्क उठाइयो भने, तेल ढुवानीबाट मात्रै इरानले मासिक ६० करोड डलर कमाउन सक्छ। यसमा ग्यास ढुवानी पनि थप्दा मासिक ८० करोड डलरभन्दा बढी आम्दानी हुन सक्छ, जुन इरानको सन् २०२४ को कुल तेल निर्यातको २० प्रतिशत बराबर हो।

अन्तर्राष्ट्रिय कानुनको उल्लंघन

अन्तर्राष्ट्रिय सामुद्रिक कानुनका विज्ञहरू भने इरानको यो माग कानुनी रूपमा अवैध रहेको बताउँछन्। यूएस नेभल वार कलेजका प्रोफेसर जेम्स क्रास्काका अनुसार हर्मोज जस्तो अन्तर्राष्ट्रिय जलमार्गमा कुनै पनि तटीय राष्ट्रले शुल्क उठाउने कानुनी आधार छैन।

संयुक्त राष्ट्रसंघको सामुद्रिक कानुन अनुसार यस्ता अन्तर्राष्ट्रिय जलमार्गमा सबै देशका जहाजहरूलाई विना अवरोध हिँड्न पाउने अधिकार हुन्छ। यद्यपि, इरानले आफू यो महासन्धिको सदस्य नभएको तर्क गर्दै आफ्नो अडानलाई बलियो बनाउन खोजिरहेको छ।

हाल ढुवानी क्षेत्र पूर्ण रूपमा ठप्प भए पनि केही जहाजहरूले इरानी तट नजिकैको रुट प्रयोग गरिरहेको देखिएको छ। रिपोर्टहरूका अनुसार केही अपरेटरहरूले गोप्य रूपमा शुल्क तिरेर सुरक्षित यात्राको सुनिश्चितता गरिरहेका छन्। हालै २० भन्दा बढी जहाजले नयाँ करिडोर प्रयोग गरेका छन्, जसमध्ये कम्तीमा दुईवटा जहाजले २० लाख डलरसम्म शुल्क तिरेको बुझिएको छ। इरानमाथि लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण थलिएको अर्थतन्त्रलाई उकास्न तेहरानले यो जुक्ति लगाएको विज्ञहरूको विश्लेषण छ।


प्रतिक्रिया दिनुहोस्