बालेन सरकारले देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्ने
काठमाडौं । वर्तमान सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनको परिवारको सम्पत्तिमाथि विस्तृत अनुसन्धान प्रक्रिया तीव्र पारेको छ । ’
यस अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिरहेको छ । विशेष गरी, सत्ताको आडमा गैरकानुनी र अस्वाभाविक सम्पत्ति आर्जन गरेको आरोपमा परेका उजुरीहरूलाई आधार मानेर प्रमाण संकलनको काम भइरहेको स्रोतले जनाएको छ ।
बूढानीलकण्ठ निवासमा प्रहरीको हस्तक्षेप प्रमाण नष्ट हुन सक्ने उच्च आशंकाका बीच प्रहरीले बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भवन भत्काउने कार्यमा रोक लगाएको छ । सो निवासमा रहेका दुईवटा बंगलामध्ये क्षतिग्रस्त भएको भवन देउवा परिवारको निर्देशनमा कामदारहरूले भत्काउन सुरु गरेका थिए । तर, भवनमाथिको अनुसन्धानमा असर पर्न सक्ने र महत्वपूर्ण प्रमाण लोप हुन सक्ने देखिएपछि उच्चपदस्थ अधिकारीहरूको निर्देशनमा सो कार्य बन्द गराइएको हो ।
७३ रोपनी जग्गा र बैंक कारोबारको खोजी अनुसन्धानका क्रममा पछिल्लो डेढ वर्षमा देउवापुत्र जयवीर देउवा र उनका नजिकका नातेदारहरूको नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरण फेला परेको छ । गृह र नेपाल प्रहरी सम्बद्ध स्रोतका अनुसार जयवीरका साथै प्रदिपशम्सेर जबरा र भूषण राणा लगायतका व्यक्तिहरूको खाताबाट भएका शंकास्पद वित्तीय कारोबारहरूको पनि सुक्ष्म अध्ययन भइरहेको छ ।
गम्भीर प्रकरणहरूसँगको सम्बन्ध यो अनुसन्धान नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवाको संलग्नता र नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालीन सञ्चार सचिवमार्फत भएका विवादास्पद निर्णयहरूसँग समेत जोडिएको छ । ती प्रकरणहरूमा भएको भनिएको अवैध लेनदेनको छानबिन गर्ने सिलसिलामा देउवा निवासको गतिविधिमाथि निगरानी बढाइएको हो ।
सरकारले अघि सारेको शासकीय सुधारका बुँदाहरू र भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत यो कदम चालिएको बुझिएको छ । ’बालेन सरकार’ को यो सक्रियताले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ भने जनस्तरमा यसलाई सुशासनको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।













