न्यूजिल्याण्ड पठाइदिने भन्दै १६ लाख ठगी गर्ने नगरकोटी पक्राउ
काठमाडौं । सात समुद्र पारि, दक्षिणी ध्रुव नजिकैको एउटा विकसित मुलुक। जहाँ संसारकै खुसी मान्छेहरू बस्छन् र जो सुरक्षित टापुका रूपमा विश्वमा परिचित छ। हो, त्यही न्यूजिल्याण्ड जाने र सुन्दर भविष्य बुन्ने सपना धेरै नेपाली युवाको मनमा सधैँ तैरिरहन्छ।
प्रशान्त महासागरको शीतल समुद्री छालमा डुबुल्की मार्ने त्यही रहरलाग्दो सपनामाथि तब ‘सुनामी’ आयो, जब उनीहरूले आफू निकै ठूलो ठगीको जालमा फसेको थाहा पाए।
बेरोजगार युवायुवतीलाई आकर्षक तलब र लोभलाग्दो जीवनशैलीको सपना देखाएर १६ लाख ३० हजार रुपैयाँ ठगी गर्ने धन्दा पर्दाफास भएको छ।
न्यूजिल्याण्ड पुगेपछि जीवन बदलिने आशामा ऋण खोजेर रकम बुझाएका पीडितहरू तब छाँगाबाट खसे जस्तै भए, जब लामो समयसम्म न विदेश जान पाए न त रकम उठाउने मान्छे नै सम्पर्कमा आए। सपनाको त्यो टापु देखाउने व्यक्ति अन्ततः प्रहरीको फन्दामा परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार वैदेशिक रोजगारीको यो झुठो आश्वासन बाँड्ने व्यक्ति ललितपुर गोदावरीका ३८ वर्षीय रिजेन नगरकोटी हुन्।
उनले पीडितहरूलाई विश्वासमा पारेर ठूलो रकम असुलेका थिए। रकम हात पारेपछि उनी एकाएक सम्पर्कविहीन भएका थिए। आफूहरू ठगिएको यकिन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।
प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार अनुसन्धान टोलीले नगरकोटीलाई चैत १३ गते ललितपुरको चापागाउँबाट नियन्त्रणमा लिएको हो। आकर्षक तलबको प्रलोभनमा पारेर युवाहरूको पसिना र भरोसामाथि खेलबाड गर्ने नगरकोटीलाई अहिले थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
यसरी न्यूजिल्याण्डको त्यो सुन्दर सपना देखाएर सुरु गरिएको ठगीको यात्रा अन्ततः प्रहरीको खोरमा पुगेर टुङ्गिएको छ।













