ट्रम्पको ‘शाही’ महत्त्वाकांक्षा विरुद्ध अमेरिकी जनताको विद्रोह, के अमेरिका ‘अखण्ड’ रहला ?
विश्वकै शक्तिशाली मानिने मुलुक संयुक्त राज्य अमेरिका यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ। ह्वाइट हाउसको सत्ता र सडकको जनसागरबीचको दूरी यति धेरै बढेको छ कि वासिङ्टनका गल्लीदेखि टाढाका ग्रामीण भेगसम्म एउटै आवाज गुन्जिरहेको छ- ‘हामीलाई राजा होइन, लोकतन्त्र चाहिन्छ।’
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका ५० वटै राज्यका ३,२०० भन्दा बढी स्थानमा शनिबार (यतिबेला नेपालमा आइतबार भइसकेको थियो) एकसाथ ठूलो मानवीय सागर उर्लियो। यसले आधुनिक इतिहासकै सबैभन्दा ठूलो नागरिक प्रतिरोधको झल्को दियो।
‘नो किंग्स’ (हामीलाई राजा चाहिँदैन) नाम दिइएको यो आन्दोलनको तेस्रो संस्करणले अमेरिकाका प्रमुख सहरहरू न्युयोर्क, वासिङ्टन डीसी, लस एन्जलस, बोस्टन र ह्युस्टनलाई मात्र होइन, साना गाउँ र बस्तीहरूलाई समेत ठप्प बनाइदियो।
प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक निर्वाचित नेता नभई ‘तानाशाह’ वा ‘कठपुतली राजा’ को संज्ञा दिएका छन्। आयोजकहरूका अनुसार यो प्रदर्शन राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरू, इरानसँगको युद्ध, कठोर अध्यागमन कानुन र आकासिँदो महँगीविरुद्धको सामूहिक आक्रोश हो।
वासिङ्टन डीसीको केन्द्र भागमा प्रदर्शनकारीहरूले दिनभर मार्च पास गरे। लिंकन मेमोरियलका खुड्किलाहरू मानिसले भरिएका थिए भने नेशनल मलमा खुट्टा राख्ने ठाउँ थिएन।
अघिल्लो अक्टोबरमा भएको यस्तै प्रदर्शनमा करिब ७० लाख मानिस सडकमा उत्रिएका थिए भने यसपटक त्यो संख्या अझै बढेको अनुमान गरिएको छ।
वासिङ्टनको नेसनल मलमा भेला भएका प्रदर्शनकारीहरूले ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको पुत्ला जलाउँदै उनीहरूलाई पदबाट हटाउन र जेल हाल्न माग गरिरहेका थिए। आन्दोलनकारीहरूको एउटै तर्क छ- ट्रम्पले आफूलाई निर्वाचित राष्ट्रपति नभई एउटा निरंकुश शासक वा राजाको रूपमा प्रस्तुत गरिरहेका छन्।
आयोजकहरूले स्पष्ट शब्दमा भनेका छन्, “शक्ति जनताको हातमा हुन्छ, कुनै अर्बपति तानाशाह वा उसका मतियारहरूको हातमा होइन।”

मिनेसोटाको घाउ
यसपटकको आन्दोलनको सबैभन्दा भावुक र शक्तिशाली केन्द्र मिनेसोटा बन्यो। गत जनवरीमा संघीय अध्यागमन एजेन्टहरूको कारबाहीमा दुई अमेरिकी नागरिक (रेनी निकोल गुड र एलेक्स प्रेटी) को मृत्यु भएको थियो। आफ्नै नागरिकमाथि आफ्नै सरकारले गरेको यो घातक प्रहारले देशभरि नै बदलाको भावना र आक्रोश पैदा गरेको छ।
सेन्ट पलस्थित स्टेट क्यापिटल बाहिर हजारौँको भीडलाई सम्बोधन गर्दै मिनेसोटाका गभर्नर टिम वाल्जले भने, “तपाईंहरू अमेरिकी मूल्य र मान्यताका मुटु र आत्मा हुनुहुन्छ।” सिनेटर बर्नी स्यान्डर्सले देश अधिनायकवादतर्फ धकेलिँदै गरेको भन्दै जनतालाई शासन सत्ता आफ्नो हातमा लिन आह्वान गरे।
त्यही मञ्चबाट विश्वविख्यात गायक ब्रुस स्प्रिंगस्टिनले ‘स्ट्रिट्स अफ मिनियापोलिस’ बोलको गीत गाउँदा माहोल निकै गम्भीर र भावुक बनेको थियो। हजारौँका आँखा रसाएका थिए।
न्युयोर्कको टाइम्स् स्क्वायरमा मात्रै १ लाखभन्दा बढी मानिस भेला भएका थिए, जसका कारण प्रहरीले म्यानहटनका मुख्य सडकहरू बन्द गर्नुपरेको थियो। यो लहर केवल अमेरिकामा मात्र सीमित रहेन, लण्डन, पेरिस र लिस्बनमा रहेका अमेरिकी नागरिकहरूले पनि ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरे।
यो केवल एउटा राजनीतिक विरोध मात्र थिएन, बरु अमेरिकी पहिचान र अस्तित्व बचाउने लडाइँ जस्तै देखिन्थ्यो।
के युनाइटेड स्टेट्स विघटन हुने संभावना छ?
जुन देशलाई विश्वले लोकतन्त्रको प्रतीक मान्छ, आज त्यही देशभित्र ‘विखण्डन’ को डरलाग्दो छाया देखिन थालेको छ।
ट्रम्पले २०२५ जनवरीमा पुनः सत्ता सम्हालेपछि राष्ट्रपतिको शक्तिलाई असीमित रूपमा विस्तार गरेका छन्। उनले कार्यकारी आदेशमार्फत संघीय सरकारका महत्वपूर्ण अंगहरू विघटन गर्ने र राज्यका गभर्नरहरूको चर्को विरोधका बाबजुद सहरहरूमा नेसनल गार्ड (सेना) परिचालन गर्ने काम गरिरहेका छन्।
यो कदमले अमेरिकाका धेरै राज्यहरू र संघीय सरकारबीच ठूलो संवैधानिक द्वन्द्व निम्त्याएको छ। केही राज्यहरूले त संघीय आदेशलाई पालना नगर्ने चेतावनी समेत दिएका छन्।
यदि राष्ट्रपतिले आफ्ना राजनीतिक विरोधीहरूलाई छानीछानी कारबाही गर्ने र राज्यको अधिकारमाथि सेनामार्फत हस्तक्षेप गरिरहने हो भने, अमेरिकाको एकीकृत स्वरूपमा दरार आउने र केही राज्यहरूले केन्द्रसँगको सम्बन्ध विच्छेद गर्न सक्नेसम्मको जोखिम बढेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।
आन्दोलनकारीहरूले त अहिलेको अवस्थालाई सन् १७७६ को अमेरिकी क्रान्तिसँग तुलना गर्दै पुनः ‘राजतन्त्र’ विरुद्धको लडाइँ लड्नुपर्ने बेला आएको बताउन थालेका छन्।

अब ट्रम्प के गर्लान्?
यति ठूलो जनलहर सडकमा देखिँदा पनि ह्वाइट हाउसको प्रतिक्रिया भने अझै कठोर र उपेक्षापूर्ण छ। ह्वाइट हाउसका प्रवक्ताले यसलाई ‘ट्रम्प डिरेन्जमेन्ट थेरापी सेसन’ भन्दै केवल मिडियाले मात्रै यसलाई प्राथमिकता दिएको दाबी गरेका छन्।
यसलाई नेपालीमा बुझ्दा “यी सडकमा उत्रिएका मानिसहरू कुनै गम्भीर एजेन्डा लिएर आएका होइनन्, उनीहरूलाई त केवल ट्रम्पसँग रिस उठेको छ र त्यो रिस पोख्नका लागि (थेरापी गर्नका लागि) मात्र सडकमा जम्मा भएका हुन्।”
तर, वास्तविकता त्यस्तो छैन। लस एन्जलसमा प्रदर्शनकारी र संघीय एजेन्टबीच झडप हुँदा सुरक्षाकर्मी घाइते भएका छन् भने डल्लासमा पनि प्रहरीले ठूलो संख्यामा धरपकड गरेको छ।
राष्ट्रपति ट्रम्पले आफू राजा नभएको दाबी गर्दै देशलाई संकटबाट बचाउन कठोर कदम चाल्नुपर्ने तर्क गरिरहेका छन्। उनले आफूमाथि लागेका तानाशाहीका आरोपहरूलाई ‘हिस्टेरिया’ को संज्ञा दिँदै आएका छन्।
तर, पछिल्लो जनमत सर्वेक्षणले उनको लोकप्रियता अहिलेसम्मकै न्यून बिन्दुमा पुगेको देखाएको छ। अब ट्रम्पसामु दुईवटा मात्र बाटो बाँकी छन्।
पहिलो- जनमतको कदर गर्दै आफ्ना विवादित नीतिहरू फिर्ता लिने र देशलाई शान्त बनाउने। दोस्रो- अझ बढी बल प्रयोग गरेर आन्दोलन दबाउने।
विश्लेषकहरूका अनुसार ट्रम्पको स्वभाव पछि हट्ने खालको छैन। उनले आगामी मध्यावधि निर्वाचनलाई ध्यानमा राख्दै आफ्ना कट्टर समर्थकहरूलाई अझ बढी गोलबन्द गर्ने रणनीति लिन सक्छन्।
भलै, रिपब्लिकन पार्टीको पकड भएका इडाहो र वायोमिङ जस्ता राज्यहरूमा समेत मतदाता दर्ताको लहर र ‘नो किंग्स’ को प्रभाव देखिनुले ट्रम्पका लागि खतराको घण्टी बजाएको छ।
उनले आफ्ना विरोधीहरूलाई ‘देशद्रोही’ को संज्ञा दिँदै थप सेना परिचालन गर्न सक्ने संकेतहरू दिएका छन्। यदि ट्रम्पले दमनको बाटो रोजे भने आगामी मध्यावधि निर्वाचनअघि नै अमेरिकामा ठूलो रक्तपात वा सत्ता परिवर्तनको आँधी आउन सक्ने जोखिम बढेको छ।
दशौँ लाख मानिसको यो ‘सुनामी’ ले ट्रम्पको सत्ताको जग कति बलियो छ भन्ने कुराको अग्निपरीक्षा लिइरहेको छ।
-एजेन्सीहरुको सहयोगमा ।













