आक्रामक 'मूड'मा देखिएको बालेन सरकारले बोलायो मन्त्रीपरिषद बैठक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आक्रामक ‘मूड’मा देखिएको बालेन सरकारले बोलायो मन्त्रीपरिषद बैठक



काठमाडौँ । सत्ताको बागडोर सम्हालेदेखि नै एक्सन मुडमा देखिएका प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाउँदै सुशासनको रफ्तारलाई थप तीव्र बनाउने संकेत दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ बजे बस्ने यो बैठक केवल नियमित प्रक्रिया मात्र नभई सरकारको ‘हन्ड्रेड डेज’ मिसनको एउटा निर्णायक मोड हुने ठानिएको छ।

सडकदेखि सत्तासम्म आफ्नो आक्रामक छवि कायम राखेका शाहले यसअघि नै सार्वजनिक गरेको १०० दिने महत्त्वाकांक्षी कार्यसूचीलाई युद्धस्तरमा कार्यान्वयन गर्न तयारी गरेका छन्।

खासगरी जेनजी आन्दोलनमा भएको दमनलाई लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक जस्ता शक्तिशाली पात्रहरूलाई कानुनको कठघरामा उभ्याइसकेको वर्तमान सरकारले अबको कदम कुन दिशामा चाल्छ भन्ने चासो सर्वत्र बढेको छ।

फाइलहरू खुल्ने र ‘ठूला माछा’हरू समातिने क्रम जारी रहँदा आजको बैठकले राज्यको संयन्त्रलाई थप चलायमान बनाउँदै विधिको शासन स्थापित गर्न ठोस प्रशासनिक निर्णयहरू लिने एक मन्त्रीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्