इरान-इजरायल युद्धबीच प्रति ब्यारेल ११५ डलर पुग्यो कच्चा तेलको मूल्य, नेपालमा पेट्राेल थप महँगाे हुने !
काठमाडौँ । अमेरिका–इजरायल र इरानबीचको युद्ध पाँचौँ हप्तामा प्रवेश गरेसँगै सोमबार बिहान अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ११५ अमेरिकी डलर नाघेको छ।
एक ब्यारेलमा १५९ लिटर कच्चा तेल हुने हुँदा ११५ डलरको दरले हिसाब गर्दा अहिले अन्तर्राष्ट्रिय बजारमा १ लिटर कच्चा तेलको मूल्य करिब ०.७२ अमेरिकी डलर (नेपाली रुपैयाँमा झन्डै ९६ रुपैयाँ) पर्न जान्छ। यो केवल कच्चा तेलको मूल्य हो, जसमा प्रशोधन र ढुवानी खर्च जोडिन बाँकी नै रहन्छ।
यस्तै, अमेरिकामा कारोबार हुने तेलको मूल्य पनि ३.५ प्रतिशतले बढेर प्रति ब्यारेल १०३ डलर पुगेको छ। यो वृद्धिसँगै कच्चा तेल इतिहासकै सबैभन्दा उच्च मासिक वृद्धितर्फ अघि बढेको छ।
गत सप्ताहान्तमा इरान समर्थित यमनी हुथी विद्रोहीहरू इजरायल विरुद्धको युद्धमा प्रत्यक्ष सहभागी भएपछि तनाव थप चुलिएको हो। इरानले अब अमेरिकी र इजरायली अधिकारीका निजी निवासहरूलाई समेत निशाना बनाउने चेतावनी दिएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा इरानको प्रमुख इन्धन केन्द्र ‘खर्ग टापु’ कब्जा गर्न सकिने संकेत दिएका छन्। उनले इरानको रक्षा प्रणाली कमजोर रहेको दाबी गर्दै भेनेजुएलाको तेल उद्योग नियन्त्रणमा लिए जस्तै इरानमा पनि कदम चाल्न सकिने बताएका छन्।
इरानको संसदका सभामुखले थप ३,५०० अमेरिकी सैनिक मध्यपूर्व आइपुगेको सन्दर्भमा आफ्ना सेनाहरू अमेरिकी सैनिकलाई पर्खिरहेको भन्दै कडा चेतावनी दिएका छन्। तेहरानले होर्मुज जलडमरू भएर जाने जहाजहरूमाथि आक्रमण गर्ने धम्की दिएपछि विश्वव्यापी ऊर्जा बजारमा हलचल मच्चिएको छ। सामान्यतया विश्वको २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने जलमार्ग अहिले ठप्प जस्तै छ।
विज्ञहरूका अनुसार यदि यो द्वन्द्व कम नभएमा तेलको मूल्य अझै बढ्नेछ। हुथी आक्रमणका कारण यमन नजिकैको बाब अल-मन्डेब जलडमरूबाट हुने १० प्रतिशत तेल आपूर्ति समेत रोकिने खतरा बढेको छ। आगामी हप्ताहरूमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १३० अमेरिकी डलरसम्म पुग्न सक्ने विज्ञहरूको अनुमान छ, जसको अर्थ प्रति लिटर कच्चा तेलको मूल्य करिब १११ नेपाली रुपैयाँ सम्म पुग्न सक्छ।
गत फेब्रुअरी २७ मा प्रति ब्यारेल ७२ डलर रहेको तेलको मूल्य युद्ध सुरु भएपछि मार्च १८ मा ११९.५० डलरसम्म पुगेको थियो। यो सन् २०२२ यताकै उच्च बिन्दु हो। तेलको मूल्य वृद्धिले विश्वभरका उपभोक्ताहरूको खर्च गर्ने क्षमता घटाउने र आर्थिक मन्दी निम्त्याउन सक्ने डर पैदा भएको छ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने संकेत
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको यो उच्च वृद्धिको सीधा मार नेपाली उपभोक्तामाथि थपिने देखिएको छ। नेपाल आयल निगमले गत चैत १ गते मात्रै पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाएको थियो। त्यसको केही दिनमै अर्थात् चैत १२ गतेदेखि लागू हुने गरी पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा एकमुष्ट १५ रुपैयाँले वृद्धि गरियो।
यसरी हेर्दा चैत महिनाको छोटो अवधिमै नेपालमा पेट्रोलको भाउ प्रति लिटर ३० रुपैयाँ र डिजेल तथा मट्टितेल २५ रुपैयाँले बढिसकेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल ११५ डलर नाघेसँगै भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने नयाँ मूल्यसूची अझ बढेर आउने निश्चित छ। यसले गर्दा १५ दिनभित्रै तेस्रो पटक मूल्य वृद्धि हुन सक्ने र नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यले नयाँ रेकर्ड कायम गर्ने देखिएको छ।













