के आजको मन्त्रीपरिषदले डेपुटी गभर्नर नियुक्ति गर्छ ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

के आजको मन्त्रीपरिषदले डेपुटी गभर्नर नियुक्ति गर्छ ?



काठमाडौँ । सोमबार साँझ ४ बजे मन्त्रीपरिषदको बैठक बोलाइएको जानकारी सरकारका प्रवक्ता सस्मित पोखरेलले आफ्नो व्यक्तिगत फेसबूकमार्फत् दिएकै समयमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल सिंहदरबार पुगिसकेका थिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बोलाएको भन्दै उनी विहानै त्यता गएको नेपाल राष्ट्र बैंकका अधिकारीहरुले पुष्टि गरेका छन् ।

कुनै बेला राष्ट्रिय योजना आयोगमा सँगै काम गरेका यी दुई अर्थशास्त्रीहरुबीच नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर नियुक्तिका विषयमा छलफल भएको बताइएको छ ।

निर्वाचनको परिणाम आइसके पछि पनि पूर्ववर्ति अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जाँदाजाँदै डेपुटी गभर्नर नियुक्त गर्न खोजेपछि वाग्लेले अर्थ सचिव र मुख्य सचिवलाई फोन गरेर ‘कुनै पनि नियुक्ति नगर्न’ भनेका थिए । उनले त्यतिबेलै ‘शक्तिशाली सरकार आउँदै गरेका कारण कुनै पनि नियुक्ति नगर्न’ आग्रह गरेपछि रातारात डेपुटी गभर्नर नियुक्ति गर्ने कोसिस रोकिएको थियो ।

गत फागुन २५ बाटै रिक्त भएको डेपुटी गभर्नर नियुक्त गर्न अर्थमन्त्री वाग्ले पनि ‘ढिला नगर्ने’ सोचमा देखिएका छन् । त्यसैले उनले आइतबार मात्रै गभर्नरलाई बोलाएर एक घण्टा छलफल गरेपछि सोमबार विहानै पुन: अर्थ मन्त्रालयमा बोलाएको स्रोतको दाबी छ ।

हिजो आइतबार अर्थ मन्त्रालयमा पुगेका गभर्नर र अर्थमन्त्री वाग्लेबीच सुरुमा मुलुकको वर्तमान आर्थिक स्थिति, अर्थमन्त्रीले भनेको श्वेतपत्रको विषय र शासकीय सुधारका १०० बूँदे कार्यक्रमको कार्यान्वयनका विषयमा छलफल भए पनि अन्तिममा लामो र सघन छलफल डेपुटी गभर्नरमा केन्द्रित भएको राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले अर्थपथलाई बोलाए ।

तर त्यसको भोलिपल्ट विहानै कार्यालयमा हाजिर नहुँदै गभर्नर पहिले अर्थमन्त्री भेट्न सिंहदरबार पुगेको खबर आएपछि आजैको मन्त्री परिषद बैठकले डेपुटी गभर्नर नियुक्ति गर्ने संभावना बढेको हो । अहिलेको बालेन सरकारको काम गर्ने रफ्तारले पनि यस्ता जरुरी तर रिक्त पदको पदपूर्ति गर्न धेरै प्रतीक्षा नगर्ने देखिन्छ । यस आधारमा पनि अबको केही घण्टाभित्रै केन्द्रिय बैंकले नयाँ डेपुटी गभर्नर पाइसक्ने संभावना छ ।

नेपाल राष्ट्र बैंक ऐनको दफा १६ ले गभर्नरको सिफारिसमा मन्त्रीपरिषदले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था गरेको छ । अहिले राष्ट्र बैंकमा दुई जना नियुक्ति गर्न गभर्नरले बहालवाला १८ जना कार्यकारी निर्देशकमध्ये ४ जनाको नाम अर्थ मन्त्रालयमार्फत् मन्त्रीपरिषदमा सिफारिस गर्नुपर्छ । ती ४ मध्ये २ जनालाई सरकारले डेपुटी गभर्नर नियुक्त गर्ने छ ।

नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था :


प्रतिक्रिया दिनुहोस्