सन नेपाल लाइफ इन्स्योरेन्स सिइओ अर्याल राजकुमार पक्राउ, मुद्धा के थियो ?  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सन नेपाल लाइफ इन्स्योरेन्स सिइओ अर्याल राजकुमार पक्राउ, मुद्धा के थियो ? 



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन् । 

इन्स्योरेन्सका एक कर्मचारीले अर्थ पथ डटकमलाई दिएको जानकारी अनुसार सिइओ कार्यालयबाट पक्राउ परेका हुन् । 

‘सर(सिइओ) आफिस आउनु भएको थियो’, एक कर्मचारीले भने, ‘उहाँ(अर्याल)लाई यहीबाट (कार्यालय)मै प्रहरी आएर लिएर जानु भएको छ ।’

सिइओ अर्यालले कर्मचारीका लागि छुट्ट्याइएको आईपीओ सेयरमा किर्ते गरी ठूलो परिमाणमा आफ्नो कब्जामा पारेको धितोपत्र बोर्ड (सेबोन)ले यस विषयमा अनुसन्धान गरी कारबाहीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई फाइल पठाएको थियो ।

तर, सिआइबीले भने फायल अगाडि बढाएको थिएन । अहिले बालेन सरकार आएपछि भने प्रहरीले फेरी पक्राउ गरेको छ ।

सीआईबीले उक्त फाइल लामो समयदेखि अगाडि नबढाउँदा अर्याल अझै पनि पदमा कायम रहेका थिए ।

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ (आइपीओ) जारी गर्दा कर्मचारीका लागि कुल ४ लाख ८० हजार कित्ता सेयर छुट्ट्याइएको थियो । उक्त सेयर कर्मचारीले अंकित मूल्य (रु. १००) मा पाउने व्यवस्था थियो । सिइओ अर्यालले ती कर्मचारीहरूका लागि छुट्ट्याइएको सेयरमध्ये करिब ८० प्रतिशत (३ लाख ८४ हजार कित्ता) आफ्नै नाममा वा आफ्नै कब्जामा पारेको भेटिएको थियो ।

उनले कर्मचारीहरूको नाममा नक्कली फारम भर्ने, हस्ताक्षर किर्ते गर्ने र कर्मचारीलाई थाहै नदिई उनीहरूको हकको सेयर आफैँले खरिद गरेको आरोप लागेको थियो । सर्वसाधारणले प्रतिकित्ता २३९ रुपैयाँमा किनेको सेयर उनले १०० रुपैयाँमै हात पारेको भन्नले आरोप थियो । जसबाट उनलाई करोडौँको तत्काल लाभ भएको देखिएको थियो ।

अर्यालको विगतमा पनि ‘शैक्षिक योग्यता र अनुभव’ ढाँटेको भन्दै बीमा समिति (हालको बीमा प्राधिकरण) ले छानबिन गरेको थियो। यो मुद्दा सन् २०१३ तिर निकै चर्चामा थियो ।


प्रतिक्रिया दिनुहोस्