गुजरातमा मोदीले गरे अत्याधुनिक सेमिकन्डक्टर प्लान्टको उद्घाटन, दैनिक ६० लाख चिप्स उत्पादन गर्ने लक्ष्य
काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आफ्नो गृहराज्य गुजरातमा एक भव्य समारोहका बीच अत्याधुनिक सेमिकन्डक्टर प्लान्ट र ‘सम्राट सम्प्रति संग्रहालय’को उद्घाटन गरेका छन्।
भारतलाई विश्वकै प्रमुख सेमिकन्डक्टर उत्पादन केन्द्र (ग्लाेवल चीप हव ) बनाउने रणनीतिक लक्ष्यका साथ यो परियोजना अघि बढाइएको हो। जसकाे लागत ३ हजार ३०० कराेड भारतिय रूपैयाँ रहेकाे छ।
गुजरातको धोलेरामा स्थापित यो नयाँ सेमिकन्डक्टर प्लान्टले भारतको प्रविधि क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।यो प्लान्टले चिपहरूको एसेम्बली र परीक्षण गर्नेछ, जहाँबाट दैनिक करिब ६० लाख चिप्स उत्पादन हुने अपेक्षा गरिएको छ।
उद्घाटनका क्रममा प्रधानमन्त्री मोदीले यो प्लान्ट केवल एउटा उद्योग मात्र नभएर भारतको आत्मनिर्भर बन्ने संकल्पको प्रतीक भएको बताए। उनले भने ‘भविष्यको विश्व प्रविधिमा आधारित छ र प्रविधिको मुटु भनेकै सेमिकन्डक्टर चिप हो। भारत अब चिप आयात गर्ने मात्र होइन, निर्यात गर्ने मुलुकको रूपमा अगाडि बढ्दैछ।’
सेमिकन्डक्टर प्लान्टसँगै प्रधानमन्त्रीले ‘सम्राट सम्प्रति संग्रहालय’को पनि लोकार्पण गरे। यो संग्रहालयले भारतको ऐतिहासिक विरासत र आधुनिक प्रविधिको सङ्गमलाई झल्काउने बताइएको छ। सम्राट सम्प्रतिका योगदान र प्राचीन भारतको गौरवलाई युवा पुस्तासम्म पुर्याउन यो संग्रहालयले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
यो सेमिकन्डक्टर प्लान्टको सञ्चालनले भारतमा स्मार्टफोन, ल्यापटप, विद्युतीय सवारी साधन र रक्षा उपकरणहरूको उत्पादन लागत घट्ने विश्लेषण गरिएकाे छ। यसले हजारौँको सङ्ख्यामा दक्ष रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै वैदेशिक मुद्राको बचतमा समेत ठूलो मद्दत पुर्याउनेछ।
पछिल्लो समय विश्वव्यापी रूपमा चिपको अभाव भइरहेका बेला भारतले चालेको यो कदमलाई अन्तर्राष्ट्रिय बजारमा निकै चासोका साथ हेरिएको छ। सरकारले ‘इन्डिया सेमिकन्डक्टर मिसन’ अन्तर्गत अर्बौं डलरको प्रोत्साहन प्याकेज घोषणा गरेसँगै विश्वका ठूला प्रविधि कम्पनीहरूले पनि भारतमा लगानी गर्न इच्छा देखाइरहेका छन्।













