८ महिनामा वायुसेवा निगमले टिकट बिक्रीबाट मात्र ११ अर्ब आम्दानी, १२ प्रतिशतको वृद्धि - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

८ महिनामा वायुसेवा निगमले टिकट बिक्रीबाट मात्र ११ अर्ब आम्दानी, १२ प्रतिशतको वृद्धि



काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानीमा पछिल्लो समय उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिना (साउनदेखि फागुनसम्म) मा निगमको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेको छ ।

सवा ११ अर्ब बढी आम्दानी निगमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा ४ लाख ३४ हजार ६१४ यात्रुलाई सेवा दिएर ११ अर्ब ३० करोड ४८ लाख रुपैयाँ आम्दानी भएको छ । यो आम्दानी जहाजको टिकट बिक्रीबाट मात्र भएको हो ।

जसमा ग्राउन्ड ह्यान्डलिङ सेवाको आम्दानी समावेश गरिएको छैन । गत वर्षको यही अवधिमा निगमले १० अर्ब १० करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यात्रु सङ्ख्यामा ८१ हजारको बढोत्तरी गत वर्षको तुलनामा यस वर्ष यात्रुको सङ्ख्या २३ प्रतिशत अर्थात् ८१ हजारले बढेको छ । गत वर्ष ८ महिनामा ३ लाख ५३ हजार ६०१ यात्रुले सेवा लिएका थिए । निगमका अनुसार यस वर्ष जहाजहरू नियमित उडानमा रहेको र ठुलो मर्मत (सी–चेक) को तालिका नपरेका कारण आम्दानी र यात्रु सङ्ख्या दुवैमा सुधार आएको हो ।

जापानबाट सबैभन्दा बढी कमाइ निगमका लागि सबैभन्दा बढी आम्दानी हुने गन्तव्य जापान बनेको छ । जापान सेक्टरबाट मात्रै निगमले ३ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ । जहाँ ४७ हजार यात्रुले यात्रा गरेका थिए । यस्तै, दोस्रो धेरै आम्दानी हुनेमा दुबई सेक्टर छ । जहाँबाट १ अर्ब ६९ करोड रुपैयाँ सङ्कलन भएको छ ।

यात्रु सङ्ख्याका हिसाबले भने भारतको दिल्ली सेक्टर पहिलो स्थानमा छ । दिल्ली उडानमा ९५ हजार ८६० यात्रुले सेवा लिएका छन् । अन्य गन्तव्यहरूमा साउदी अरबको दमामबाट ४३ करोड र चीनको ग्वाङ्झाउबाट १४ करोड ४० लाख रुपैयाँ आम्दानी भएको छ ।

आन्तरिक उडानको अवस्था अन्तर्राष्ट्रिय उडानमा उत्साहजनक नतिजा देखिए पनि आन्तरिक उडानको अवस्था भने कमजोर देखिएको छ । पछिल्लो ८ महिनामा निगमले आन्तरिक उडानमार्फत १६ हजार यात्रुलाई सेवा दिई जम्मा ७ करोड १३ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।

हाल निगममा कार्यकारी अध्यक्ष नभए तापनि नियमित उडान भइरहनुले आम्दानी बढाउन सहयोग पुगेको देखिन्छ । यद्यपि, पछिल्लो समय पश्चिम एसियामा देखिएको तनावका कारण खाडी मुलुकको उडान र आम्दानीमा केही असर पर्न सक्ने चिन्ता निगमले व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्