नेपाल एयरलाइन्सको दिल्ली उडान विस्तार: अब सातामा १० वटा उडान हुने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल एयरलाइन्सको दिल्ली उडान विस्तार: अब सातामा १० वटा उडान हुने



काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं-दिल्ली–काठमाडौं रुटमा हवाई उडान सेवा थप विस्तार गरेको छ। यात्रुको बढ्दो चाप र उडानको मागलाई सम्बोधन गर्ने उद्देश्यले निगमले साताको तीन उडान थप गर्ने निर्णय गरेको हो।

हालसम्म काठमाडौं-दिल्ली रुटमा आरए २१७/२१८ बाट दैनिक एउटा उडान हुँदै आएको थियो। निगमले चैत १७ गतेदेखि लागू हुने गरी आरए २०५/२०६ मार्फत हप्ताको थप तीन दिन (मंगलबार, बिहीबार र शनिबार) उडान भर्ने व्यवस्था मिलाएको छ। यो थप व्यवस्थासँगै अब दिल्लीका लागि नेपाल वायुसेवा निगमको उडान संख्या हप्तामा १० पुगेको छ।

थपिएको नयाँ उडान तालिका अनुसार काठमाडौंबाट दिल्लीका लागि बिहान ०८:१० बजे जहाज उड्नेछ भने दिल्लीबाट काठमाडौंका लागि बिहान १०:५० बजे फिर्ता हुनेछ। पहिलेदेखि नै भइरहेको दैनिक उडान भने दिउँसो १३:२५ बजे काठमाडौंबाट प्रस्थान गर्ने र साँझ १६:२० बजे दिल्लीबाट काठमाडौं फर्कने तालिका यथावत् रहेको छ।

निगमका अनुसार दिल्ली रुटमा बढ्दो यात्रुको चापलाई मध्यनजर गर्दै उडान संख्या बढाइएको हो। यसले भारत भ्रमणमा जाने नेपाली र नेपाल आउने भारतीय पर्यटक तथा व्यवसायीहरूलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस्