सपना प्रधान मल्लले सम्हालिन् कामु प्रधानन्यायाधीशकाे जिम्मेवारी
काठमाडाैं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश भएपछि रिक्त रहेको सर्वोच्चको नेतृत्व मल्लले सम्हालेकी हुन्।
नेपालको संविधानको धारा १२९ (९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने स्पष्ट व्यवस्था छ। सोही संवैधानिक प्रावधानअनुसार प्रधानन्यायाधीश अवकाश भएपछि वरिष्ठतम न्यायाधीश स्वतः कामु प्रधानन्यायाधीश हुने व्यवस्था बमोजिम मल्लले यो जिम्मेवारी प्राप्त गरेकी हुन्।
नियमतः प्रधानन्यायाधीशको अवकाश हुनुपूर्व नै भावी प्रधानन्यायाधीशको नाम सिफारिस भइसक्नुपर्ने संवैधानिक मनसाय रहे पनि यसपटक भने त्यसो हुन सकेन। न्याय परिषद्ले सर्वोच्च अदालतका ६ जना वरिष्ठतम न्यायाधीशहरूको नामावली संवैधानिक परिषद्मा पठाइसकेको भए तापनि परिषद्को बैठक बस्न नसक्दा नियुक्ति प्रक्रियामा ढिलाइ भएको हो।













