बजारमा पैसा फालाफाल, तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब खिच्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता (नगद) व्यवस्थापन गर्न आज बुधबार २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।
बजारमा लगानीयोग्य रकम थुप्रिएपछि राष्ट्र बैंकले ’निक्षेप संकलन उपकरण’ मार्फत उक्त रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यो निक्षेप संकलनका लागि आजै चैत १८ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल हुनेछ । यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउनेछन् ।
बोलकबोलमा सहभागी हुने संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा हुने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
यसरी संकलन गरिएको निक्षेप ३९ दिनका लागि हुनेछ र यसको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ वैशाख २७ गते गरिने बैंकले जनाएको छ । यसको ब्याजदर भने बोलकबोलको माध्यमबाटै प्रतिस्पर्धाका आधारमा तय हुनेछ ।
राष्ट्र बैंकका अनुसार यसरी जम्मा गरिएको रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् ।
तर, यसलाई वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सकिने सुविधा दिइएको छ । साथै, यो निक्षेपलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिने समेत बैंकले स्पष्ट पारेको छ ।













