सरकारी सुधारको १०० बुँदे रोडम्यापको हस्तकला महासंघद्वारा स्वागत, प्रभावकारी कार्यान्वयनमा जोड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकारी सुधारको १०० बुँदे रोडम्यापको हस्तकला महासंघद्वारा स्वागत, प्रभावकारी कार्यान्वयनमा जोड



काठमाडौँ । नेपाल हस्तकला महासंघले नयाँ सरकारले अघि सारेको सय बुँदे शासकीय सुधारको मार्गचित्र (रोडम्याप) ले निजी क्षेत्रमा उत्साह जगाएको बताएको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित हस्तकला उद्योगको प्रवर्द्धनमा राज्यको भूमिका अब थप प्रभावकारी हुने अपेक्षा राखेको छ ।

सरकारले सार्वजनिक गरेको कार्ययोजनाले सुशासन र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता जनाउँदै राष्ट्र निर्माणको प्रमुख साझेदार निजी क्षेत्रलाई सुरक्षा र राहत दिने प्रत्याभूति दिएको महासंघको ठहर छ । “राज्यले थाल्ने सुशासनका हरेक पहलकदमीमा हस्तकला क्षेत्र सदैव साथ र सहयोग गर्न प्रतिबद्ध छ,” विज्ञप्तिमा उल्लेख छ ।

नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको हस्तकला क्षेत्रले पर्यटन प्रवर्द्धन, संस्कृति र सम्पदाको संरक्षण एवं रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्दै आएको महासंघले जनाएको छ । यस क्षेत्रको विकासका लागि आगामी दिनमा सरकारले ‘हस्तकला मैत्री नीति’ ल्याएर उद्यमी, व्यवसायी र कालिगढहरूको मनोबल उच्च तुल्याउनुपर्नेमा महासंघले जोड दिएको छ ।

यसैबीच, महासंघले प्रतिनिधि सभाको निर्वाचनबाट भारी अभिमत प्राप्त गरी प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका बालेन्द्र शाह (बालेन) लाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ । नयाँ सरकारको प्रभावकारी कार्य सम्पादनले देशलाई समृद्धिको दिशामा लैजाने महासंघको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्