इन्धनको भाउ दोब्बर भएपछि हवाई भाडामा पनि उच्च बृद्धि
काठमाडौँ । हवाई इन्धनको भाडा बढेसँगै अब विमानको भाडा पनि बढाइएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो । आजैदेखि लागू हुने गरी हवाइजहाजको भाडा बढाइएको संघले जनाएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य झण्डै दोब्बर अर्थात् ९८ प्रतिशत बढाएको नतिजा स्वरुप उड्डयन कम्पनीहरुले पनि मूल्य उकासेका हुन् ।
‘हवाइ इन्धनको मूल्य बृद्धि भएसँगै सदस्य वायुसेवा कम्पनीहरुले पनि आफ्नो उडान खर्च उठाउनु पर्ने’ संघको भनाइ छ । त्यसैले यात्रुलाई ‘सहज, सरल तथा सुविधाजनक सेवा प्रदान गर्नका लागि हवाइ भाडा दर तथा हेलिकप्टर भाडा दर पनि स्वत: वृद्धि गर्नुपर्ने भएको’ विज्ञप्तीमा भनिएको छ ।
‘इन्धनको मूल्य झण्डै दोब्बर भएको अनुपातमा फ्युल चार्ज बढाएर नयाँ हवाई भाडादर सबै उडानमा लागू हुने’ संघको विज्ञप्तीमा उल्लेख छ ।
हाम्रा वायु सेवा कम्पनीहरुले भाडा दर निर्धारणमा दुई किसिमको सूत्र प्रयोग गर्दै आएका छन् । यसमा एउटा आधार भाडा (बेस फेयर) हुन्छ । यो रकममा एयरलाइन्सको मर्मत, कर्मचारी तलब र नाफा जोडिएको हुन्छ। यसमा एयरलाइन्सहरूले ‘फ्लेक्सी फेयर’ प्रणाली लागू गर्छन्। त्यसैले, अगाडि नै टिकट काट्दा आधार भाडा कम हुन्छ भने उडानको दिन नजिकिँदै जाँदा यो महँगो हुन्छ।
त्यस बाहेक इन्धन शुल्कको छुट्टै हिसाब हुन्छ । नेपाल वायुसेवा सञ्चालक संघले नेपाल आयल निगमको मूल्य अनुसार एउटा ‘सूत्र’ प्रयोग गरेर यो शुल्क तोक्छ। सामान्यतया, इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँभन्दा बढी घटबढ हुँदा यो शुल्क पनि तत्काल समायोजन हुन्छ। यही हिसाबका आधारमा अहिले भाडा बढाउने निर्णय भएको हो ।
सामान्यतया एउटा वायुसेवाका लागि उसको कुल खर्चमध्ये ३५ देखि ४० प्रतिशत इन्धन खर्च हुन्छ । हेलिकप्टरहरुमा भने इन्धन खर्चले उसको कुल खर्चको ४० देखि ४५ प्रतिशत हिस्सा ओगट्छ । त्यसैले यही अनुपातमा इन्धनको मूल्य बृद्धि पनि समायोजन हुन्छ ।
सोझो अनुमान गर्दा हिजोसम्म कुनै गन्तव्यमा पुग्न १० हजार रुपैयाँ हवाइ भाडा थियो भने त्यसमा ६ हजार आधारभूत शुल्क र ४ हजार रुपैयाँ इन्धन शुल्क हुनसक्छ । इन्धनको भाडा दोब्बर हुँदा अब त्यसलाई ८ हजार पुर्याइएको छ । यसरी ६ हजारमा ८ हजार जोडेर नयाँ भाडा १४ हजार पुग्छ ।

त्यही बढेको मूल्यमा भ्याट पनि तिर्नुपर्छ । विमानस्थल शुल्क भने प्रतिव्यक्ति ४०० देखि ५०० रुपैयाँ स्थिर नै रहन्छ । यसरी प्लेनको नयाँ भाडा तय भएको छ ।
अनलाइन प्लेटफर्महरुले भोलि विहीबारका लागि काठमाडौँबाट विराटनगर गएको भाडा ७९००, भद्रपुरको ९४००, सिमराको ५१०० र धनगढीको ११६०० न्यूनतम भाडा देखाएका छन् । काठमाडौँबाट चितवनको भरतपुरका लागि ५९६९, पोखराका लागि ६ हजार, नेपालगञ्जका लागि ९३००, भैरहवाका लागि ७१०० र जनकपुरका लागि ६ हजार भाडादर देखिएको छ ।
बुद्ध एयरले कलकत्ताको भाडादर २७,३८४ र वाराणसीका लागि १९,४९२ रुपैयाँ न्यूनतम भाडा तोकेको छ ।
यस्तो छ नयाँ भाडादर :













