बहुप्रतिक्षित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डी गो प्लेटफर्ममा प्रदर्शन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बहुप्रतिक्षित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डी गो प्लेटफर्ममा प्रदर्शन



काठमाडौं । नेपालका दूरदर्शी चिन्तक र राजनीतिक सुधारक स्व. उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र “दिमाग घोच्ने मान्छे” अब आधिकारिक रूपमा डी गो (DGO) ओटीटी प्लेटफर्ममा प्रदर्शनका लागि तयार भएको छ ।

यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश ‘उज्वल थापा फाउन्डेसन’ लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ । यस पहलले उज्वल थापाले सुरु गर्नुभएका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

“दिमाग घोच्ने मान्छे” ले उज्वल थापाको बाल्यकाल, अमेरिकाको शिक्षा र नेपाल फर्किएपछि उद्यमशीलता मार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई मसिनोसँग केलाएको छ । दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभव मार्फत बुनिएको यो चलचित्रले एक यस्तो मान्छेको चित्रण गर्छ, जसले समाजलाई प्रश्न गर्न र आफैंले जिम्मेवारी लिन सिकाए । यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई, समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एक प्रेरणाको स्रोत हो ।

नेपाल र विश्वभरका दर्शकहरूले अब ‘डी गोको’ एपमार्फत यो विशेष वृत्तचित्र हेर्न सक्नेछन्। नेपालका लागि १९९ रुपैयाँ र विदेशका लागि २.९९ देखि ४.९९ डलरसम्मको आकर्षक शुल्क तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्