निर्माण व्यवसायी महासंघको निर्वाचनमा पाण्डे र लामा प्यानल भिड्दै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

निर्माण व्यवसायी महासंघको निर्वाचनमा पाण्डे र लामा प्यानल भिड्दै



काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भइरहेको छ ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा भइरहेको यस निर्वाचनले आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

महासंघको अध्यक्ष पदका लागि दुईवटा मुख्य प्यानलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामा आ–आफ्नो समूहसहित चुनावी मैदानमा उत्रिएका छन् ।

पाण्डे समूहको टिम
निकोलस पाण्डेको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन् । यसै समूहका तर्फबाट लुम्बिनी प्रदेशका केन्द्रीय उपाध्यक्षमा सगुन कन्स्ट्रक्सनका सञ्चालक सहदेव खड्का भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

लामा समूहको टिम
आङ दोर्जी लामाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यी दुई प्यानलका अतिरिक्त उपमहासचिव पदमा प्रमोद लामिछानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्माण व्यवसायीहरूको हकहित र पेशागत सुरक्षालाई मुख्य एजेन्डा बनाएर दुवै पक्षले आ–आफ्नो जितको दाबी गरिरहेका छन् ।
चुनावको अन्तिम परिणाम आएपछि महासंघले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पाउनेछ ।


प्रतिक्रिया दिनुहोस्