निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा निकोलस पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतपरिणाम अनुसार पाण्डेले ५१४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत प्राप्त गरे ।
नवनियुक्त अध्यक्ष पाण्डे निर्माण क्षेत्रका एक सक्रिय युवा उद्यमी हुन् । उनी कालिका कन्स्ट्रक्सनका सञ्चालक हुनुका साथै एएसी ब्रिक उत्पादक संघका अध्यक्ष पनि हुन् । पाण्डे पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेका छोरा हुन् ।
महासंघको अन्य महत्वपूर्ण पदहरूमा पनि नयाँ नेतृत्व चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
महासचिव शिवहरि घिमिरे ५२७ मतका साथ विजयी भए । उनले आफ्ना प्रतिद्वन्द्वी बलिभद्र रानालाई पराजित गरे । जसले ३८० मत पाएका थिए ।
नीतिगत उपमहासचिव मंगल शाही निर्वाचित भएका छन् भने आन्तरिक उपमहासचिवमा सन्तोस शाह विजयी भएका छन् ।
पाण्डेको नेतृत्वमा आएको नयाँ टोलीले नेपालको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा रहेका व्यवसायीका समस्या र आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।













