ट्रम्पको आक्रोशले नेटोमा नयाँ संकट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ट्रम्पको आक्रोशले नेटोमा नयाँ संकट



अमेरिका र इजरायलको इरानसँग भइरहेको युद्धले यो ७६ वर्ष पुरानो गठबन्धनलाई झन्डै-झन्डै टुट्ने अवस्थामा पुर्‍याएको छ। युरोपबाट हजारौं माइल टाढा पश्चिम एसियामा भइरहेको यो द्वन्द्वले नेटोलाई स्थापना कालपछिकै सबैभन्दा कमजोर स्थितिमा पुर्‍याउने खतरा बढेको विश्लेषण गरिएको छ।

काठमाडौँ । ७६ वर्ष पुरानो सैन्य गठबन्धन नेटो अहिले इतिहासकै सबैभन्दा गम्भीर मोडमा आइपुगेको छ। युक्रेन युद्ध र डोनाल्ड ट्रम्पको बारम्बारको दबाब झेल्दै आएको यो संगठनलाई अहिले अमेरिका र इरानबीचको तनावले झन्डै फुटको सङ्घारमा पुर्‍याएको छ।

विशेषगरी पश्चिम एसियामा भइरहेको द्वन्द्वले युरोपको सुरक्षाको मेरुदण्ड मानिने यो गठबन्धनलाई नराम्ररी हल्लाईदिएको छ।

यो संकटको मुख्य जड फारसको खाडीमा रहेको हर्मोज जलमार्ग बनेको छ। गत फागुन १६ मा हवाई युद्ध सुरु भएपछि उक्त व्यापारिक मार्गलाई सुरक्षित राख्न युरोपेली देशहरूले आफ्ना नौसेना पठाउन अस्वीकार गरे।

युरोपको यो कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निकै क्रुद्ध बनाएको छ। उनले त सार्वजनिक रूपमै आफू नेटोबाट बाहिरिने सोचमा रहेको समेत बताएका छन्।

एक अन्तर्वार्तामा उनले प्रश्न गरे, “यदि तपाईं मेरो ठाउँमा हुनुभएको भए के गर्नुहुन्थ्यो?” बुधबार रातीको भाषणमा उनले आफ्ना सहयोगी राष्ट्रहरूको कडा आलोचना गरे।

यद्यपि उनले सिधै नेटोको निन्दा त गरेनन्, तर पछिल्ला हप्ताहरूमा उनले दिएका अभिव्यक्तिले युरोपमा ठूलो हलचल पैदा गरेको छ। अब युरोपेली देशहरूलाई के चिन्ता छ भने, भोलि उनीहरूमाथि कुनै आक्रमण भयो भने अमेरिका बचाउन आउँछ कि आउँदैन?

एक्लै लड्ने तयारीमा युरोप

अहिलेसम्म युरोपले रूसजस्तो शक्तिशाली छिमेकीबाट बच्न नेटो र अमेरिकी सेनाको भर पर्दै आएको थियो। तर अहिले परिस्थिति बदलिएको छ। कतिपय विज्ञहरू त अहिलेको अवस्थालाई नेटो स्थापना भएपछिकै सबैभन्दा खराब समय मान्छन्।

हिजोसम्म “अमेरिकाबिनाको युरोपेली सुरक्षा” भन्ने कुरालाई हाँसोमा उडाउने अधिकारीहरू अहिले आफैँ गम्भीर बनेका छन्।

उनीहरूले अब अमेरिका नभए पनि नेटोलाई कसरी अगाडि बढाउने भन्नेबारे सोच्न थालेका छन्। ह्वाइट हाउसले पनि स्पष्ट शब्दमा भनिसकेको छ कि राष्ट्रपति ट्रम्प आफ्ना सहयोगीहरूसँग खुसी छैनन् र अमेरिकाले यो व्यवहारलाई सधैँ सम्झिरहनेछ।

बदलिँदो समीकरण

यसअघि ट्रम्पको पहिलो कार्यकालमा युरोपेली नेताहरूले उनलाई फकाएर वा प्रशंसा गरेर शान्त पार्न सकिन्छ भन्ने सोचेका थिए। तर यसपटक त्यो रणनीतिले काम गर्ने छाँटकाँट देखिँदैन।

ट्रम्प प्रशासनको गुनासो अर्कै छ- नेटोले अमेरिकालाई अप्ठ्यारो पर्दा कहिल्यै साथ दिएन। उनीहरूका अनुसार यो गठबन्धन एकतर्फी फाइदा लिने बाटो मात्र भएको छ।

अर्कोतर्फ, ट्रम्पले रूसप्रति देखाएको नरम व्यवहारले युरोपलाई थप सशंकित बनाएको छ। रूसले इरानलाई अमेरिकी ठेगानाहरूमा आक्रमण गर्न गोप्य सूचना दिएको खबरहरू आइरहँदा पनि ट्रम्प प्रशासन मौन बस्नु र रूसी तेलमाथिको प्रतिबन्ध हटाउनुले सम्बन्धमा झन् दरार पैदा गरेको छ।

हालै फ्रान्समा भएको जी-७ को बैठकमा पनि अमेरिका र युरोपका उच्च अधिकारीहरूबीच युक्रेन र रूसको विषयलाई लिएर निकै भनाभन भएको थियो।

के नेटो साँच्चै अन्त्य होला त?

कानुनी रूपमा हेर्ने हो भने ट्रम्पलाई नेटो छोड्न सजिलो छैन। सन् २०२३ को एक नियमअनुसार अमेरिकी सिनेटको ठूलो बहुमतबिना राष्ट्रपतिले यो संगठन त्याग्न पाउँदैनन्।

तर मुख्य कुरा सेनाको हो। यदि ट्रम्पले कमान्डर-इन-चिफको नाताले युरोपको रक्षाका लागि अमेरिकी सेना नपठाउने निर्णय गरिदिए भने नेटोको अस्तित्व कागजमा मात्र सीमित हुनेछ।

यद्यपि ट्रम्पको स्वभाव अस्थिर छ; उनले पहिले पनि नेटोबारे आफ्नो धारणा पटक-पटक फेरेका छन्। आगामी हप्ता नेटोका महासचिवले ट्रम्पलाई मनाउन वासिङ्टन जाँदैछन्।

तर निष्कर्ष के हो भने, ट्रम्प र युरोप मिलेरै अगाडि बढे पनि ८० वर्षदेखि चल्दै आएको पुरानो विश्वास र सहकार्यको वातावरण भने अब सधैँका लागि फेरिएको छ। विश्वले अब एउटा नयाँ र फरक खालको सैन्य सम्बन्धको सामना गर्दैछ।


प्रतिक्रिया दिनुहोस्