ट्रम्पको ४८ घण्टे चेतावनी इरानद्वारा अस्वीकार, कुवेतको तेल डिपोमा भीषण आगलागी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको ४८ घण्टाको अन्तिम चेतावनी (अल्टिमेटम) लाई इरानले ठाडो रूपमा अस्वीकार गरिदिएको छ।
ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न वा स्ट्रेट अफ हर्मुज खोल्न चेतावनी दिँदै अन्यथा अत्यन्तै भयानक अवस्था भाेग्नु पर्ने चेतावानी दिएका थिए । इरानले ट्रम्पको उक्त भनाइलाई असहाय र त्रसित मानसिकताको उपज भन्दै वार्ताको सम्भावनालाई नकारेको छ।
युद्धको पछिल्लो चपेटामा कुवेत पनि परेको छ। कुवेतको एक तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणका कारण भीषण आगलागी भएको छ। यद्यपि, उक्त घटनामा मानवीय क्षति भने नभएको कुवेत सरकारले पुष्टि गरेको छ।
यता इरानको महशहर पेट्रोकेमिकल जोनमा अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने १७० जना घाइते भएका छन्। युद्ध सुरु भएदेखि हालसम्म इरानका ३० भन्दा बढी विश्वविद्यालयहरू निशानामा परिसकेका छन्।
लेबनानमा पनि इजरायली बमबारी जारी छ। दक्षिण लेबनानको मारकेह सहरमा भएको आक्रमणमा ५ जना सर्वसाधारणले ज्यान गुमाएका छन्। हिजबुल्लाहसँगको भिडन्तमा थप एक इजरायली सैनिकको पनि मृत्यु भएको छ।
युद्धको विरोधमा इजरायलभित्रै जनआक्रोश बढ्दो छ; तेल अभिभ, जेरुसेलम र हाइफा जस्ता सहरहरूमा सयौँ प्रदर्शनकारीहरूले सडकमा उत्रिएर युद्ध रोक्न माग गरिरहेका छन्।













