१४ श्रावण २०८३, बिहिबार

वीरगन्ज नाकाबाट ८ महिनामा ४९७ विद्युतीय गाडी भित्रियो



वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ८ महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ ।

जबकि गत आवको सोही अवधिमा भने रु ४३ करोड १ लाख मूल्य पर्ने १६५ वटा विद्युतीय, जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले रु ३५ करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको ८ महिनाको तुलनामा विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ । चालु आवको ८ महिनामा रु ८० करोड ५७ लाखका मूल्यका हजार १२८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु ४४ करोड तीन लाख मूल्यका तीन हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको थियो ।

चालु आवको ८ महिनामा रु एक अर्ब १६ करोड १३ लाखका छ सय नौ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले रु दुई अर्ब ८६ करोड राजस्व सङ्कलन गरेको छ । जबकि गत आवको ८ महिनामा भने रु १ अर्ब ५० करोड मूल्यका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । सो आवमा इन्धनबाट चल्ने सवारीसाधन आयातबाट रु तीन अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो ।

कार्यालयले चालु आवको ८ महिनामा रु २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । जबकि गत आवको ८ महिनामा रु १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा रु १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो ।