पर्यटकीय हब दुबई संकटमा, ८० प्रतिशतसम्म व्यापार घटेपछि आक्रामक तलब कटौती - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पर्यटकीय हब दुबई संकटमा, ८० प्रतिशतसम्म व्यापार घटेपछि आक्रामक तलब कटौती



गत वर्ष मात्रै दुबईले झण्डै २ करोड अन्तर्राष्ट्रिय पर्यटकहरूलाई स्वागत गरेको थियो, जसका कारण यो विश्वकै सबैभन्दा धेरै भ्रमण गरिने सहरमध्ये एक बन्यो।

तर पछिल्लो समय अमेरिका-इजरायल र इरानबीचको युद्धले यहाँको पर्यटन सङ्ख्यामा ठूलो गिरावट ल्याएको छ । फलस्वरुप स्थानीय व्यवसायहरू धराशायी हुने अवस्थामा पुगेका छन्।

सामान्यतया साँझको समयमा दुबईका रेस्टुरेन्टहरू पर्यटक र स्थानीय बासिन्दाहरूको भीडले भरिभराउ हुन्थे। तर विगत एक महिनादेखि ती टेबलहरू खाली देखिन थालेका छन्।

यो परिवर्तन दुबईका हजारौँ व्यवसायीका लागि निकै नै अप्रत्याशित र कठोर सावित भएको छ। सन् २०१४ मा दुबईमा आफ्नो पहिलो रेस्टुरेन्ट खोलेकी नताशा सिडेरिसको समूह अहिले देशैभर १४ वटा शाखा र १,००० भन्दा बढी कर्मचारीका साथ विस्तार भएको छ।

युद्धको चपेटाले उनको व्यवसायलाई नराम्ररी थला पारेको छ। नताशाका अनुसार धेरैजसो रेस्टुरेन्टहरूको आम्दानी ५० प्रतिशतले घटेको छ भने पर्यटकमा निर्भर रहने शाखाहरूको आम्दानी ८० प्रतिशतसम्मले ओरालो लागेको छ। यस संकटका कारण उनले आफ्नो र कर्मचारीहरूको तलबमा ३० प्रतिशत कटौती गर्नुपरेको छ।

“अहिलेको अवस्था एकदमै निर्मम छ। मसँग दुईवटा विकल्प थिए– कि त ३० प्रतिशत कर्मचारीलाई कामबाट निकाल्ने, कि त रोजगारी जोगाउन सबैको तलब घटाउने। मैले तत्कालका लागि दोस्रो विकल्प रोजेँ”, उदलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

पर्यटन क्षेत्रमा चौतर्फी असर

यो समस्या नताशाकोमा मात्र सीमित छैन। दुबईको रेस्टुरेन्ट क्षेत्रका एक वरिष्ठ अधिकारीले आफ्नो समूहका रेस्टुरेन्टहरूमा मानिसहरूको आवागमन सामान्यभन्दा २० प्रतिशतमा खुम्चिएको बताए। उनले आधाभन्दा बढी कर्मचारीलाई बेतलबी बिदामा पठाउनु परेको सुनाउँदै भने, “हामीसँग अरू विकल्प नै छैन। केही शाखाहरू अस्थायी रूपमा बन्द गरिसक्यौँ र बाँकी रहेकाहरू थोरै कर्मचारीको भरमा चलिरहेका छन्।”

रेस्टुरेन्ट मात्र नभई होटल, ट्राभल एजेन्सी र एयरलाइन्ससम्म यसको प्रत्यक्ष मारमा परेका छन्। विगत दुई दशकमा दुबईले आफूलाई विश्वकै प्रमुख पर्यटन केन्द्रको रूपमा स्थापित गरेको थियो। गत वर्ष ९ करोड ५० लाखभन्दा बढी यात्रुलाई सेवा दिएको दुबई अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान प्रायः छ।

युद्ध सुरु भएयता हजारौँ उडानहरू रद्द भएका छन्। ‘वेगो’ नामक ट्राभल बुकिङ कम्पनीका चिफ विजिनेश अफिसर मामुन हमिदेनका अनुसार होटलहरूको बुकिङ क्षमता २० प्रतिशतभन्दा तल झरेको छ। उनी भन्छन्, “अहिलेको अनिश्चितताले सबैलाई अस्तव्यस्त बनाएको छ।”

सुरक्षा चुनौती र भौतिक क्षति

युद्धको प्रभाव व्यापारमा मात्र होइन, सुरक्षामा पनि देखिएको छ। अधिकारीहरूका अनुसार युएईलाई लक्षित गरी २,४०० भन्दा बढी मिसाइल र ड्रोन प्रहार गरिएका छन्। जसमध्ये ९० प्रतिशतभन्दा बढीलाई विफल तुल्याइए पनि कतिपय ठाउँमा खसेका टुक्राहरूले क्षति पुर्‍याएका छन्।

चर्चित पाल्म आइल्याण्डस्थित फेयरमन्ट होटलमा क्षेप्यास्त्रका टुक्रा लागेका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। गत फागुन १६ बाट सुरु भएको यो द्वन्द्वमा युएईभर हालसम्म ११ जनाले ज्यान गुमाएका छन् भने १८५ जना घाइते भएका छन्।

यस युद्धले सम्मेलन र ठूला कार्यक्रमहरूका लागि प्रसिद्ध दुबईका व्यापारिक होटलहरूलाई पनि संकटमा पारेको छ। कयौँ ठूला कार्यक्रमहरू रद्द वा स्थगित भएका छन्। एयरडिएनएको तथ्याङ्क अनुसार युद्ध सुरु भएको पहिलो महिनामै युएईभर २ लाख २६ हजारभन्दा बढी छोटो अवधिको बुकिङ रद्द भएका छन्।

श्रमिकहरूको अनिश्चित भविष्य

दुबईको पर्यटन उद्योगको मेरुदण्ड मानिने आप्रवासी कामदारहरू अहिले सबैभन्दा बढी जोखिममा छन्।

दक्षिण एसियाली एक कामदारले आफ्नो पीडा सुनाउँदै भने, “हामीलाई फेरि कोरोना कालकै जस्तो महसुस भइरहेको छ। जागिर गुम्ने र घर फर्किनुपर्ने डरले सताइरहेको छ।” धेरै कामदारहरूलाई बेतलबी बिदामा पठाइएको छ भने कतिपय होटलहरूले कर्मचारी कटौती सुरु गरिसकेका छन्।

पुनरुत्थानको प्रयास

यो संकट केवल युएईमा मात्र सीमित छैन। अक्सफोर्ड इकोनोमिक्सका अनुसार यस वर्ष पश्चिम एसियाका खाडी मुलुकहरु भ्रमण गर्ने पर्यटकको सङ्ख्या ३ करोड ८० लाखसम्मले घट्न सक्छ, जसले अर्बौँ डलरको नोक्सानी पुर्‍याउनेछ।

यद्यपि, दुबई सरकारले व्यवसायहरूलाई राहत दिन झण्डै २७ करोड डलरको प्याकेज घोषणा गरेको छ। होटलहरूले तिर्नुपर्ने केही शुल्कहरूमा पनि छुट दिइएको छ।

सरकारी अधिकारीहरू युद्ध रोकिएपछि पर्यटनलाई फेरि जगाउन नयाँ अभियानको तयारी गरिरहेका छन्। व्यवसायीहरू भने अझै केही महिना पर्ख र हेरको अवस्थामा छन्। नतासा भन्छिन्, “हामीसँग दुई-तीन महिनासम्म धान्न सक्ने पैसा छ, त्यसपछि के गर्ने? त्यसबेला हामीले अझ कठोर निर्णय लिनुपर्ने हुन्छ। आशा छ, यो पागलपन चाँडै सकिनेछ।”


प्रतिक्रिया दिनुहोस्