खाडीमा कति छन् नेपाली ? - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

खाडीमा कति छन् नेपाली ?



काठमाडौँ । फारसको खाडी क्षेत्रमा इरान र अमेरिका–इजरायल गठबन्धनको युद्ध चलिरहँदा त्यस क्षेत्रमा कति नेपाली छन् भन्ने तथ्य रोचक देखिन्छ । ८० लाख नेपाली त्यहाँ रहेको भनिए पनि आधिकारित आँकडाहरुले रोजगारीकै निम्ति त्यति धेरै नेपाली त्यहाँ भएको त भनेको छैन, तर त्यो संख्या कम पनि छैन ।

विगत तीन आर्थिक वर्षमा नेपालबाट श्रम स्वीकृति लिएर लिनेमध्ये दुई तिहाइभन्दा बढीले खाडीका तिनै देश रोजेका थिए, जहाँ अहिले युद्ध चर्किरहेको छ । गत आर्थिक वर्ष त यो रफ्तार यति चुलियो की, वैदेशिक रोजगार विभागले जारी गरेको कुल श्रम स्वीकृतिमध्ये ७६ प्रतिशतभन्दा ज्यादा खाडीका ५ देशका लागि जारी भए ।

नेपालबाट वैदेशिक रोजगारीको अनुमति लिएका नेपाली संसारका १५० भन्दा धेरै देशमा पुगिरहेका छन् । तर सर्वाधिक मान्छे जाने १० देशमध्ये ५ वटा त खाडी क्षेत्रकै छन् । गएका दुई आर्थिक वर्षमा संयुक्त अरब इमिरेट्स (यूएई) नेपालको सबैभन्दा ठूलो गन्तव्य रहँदै आएको छ । यूएईको पनि दुबई र अबुधाबि अचेल हाम्रातिर हरेक घरका मान्छेले चिन्ने शहर हुन् ।

साउदी अरब र कतार पनि २०८० देखि नै शीर्ष ३ को सूचीमा छन् । त्योभन्दा अघिल्लो सालसम्म चाहीँ मलेसिया पहिलो र कतार दोस्रो स्थानमा देखिएको सरकारी तथ्यांक छ ।

कुवेत र बहराइन पनि यिनै खाडी देशहरुका छिमेकी हुन्, जुन अहिले इरानी ड्रोन र क्षेप्यास्त्रहरुको छायाँमै छन् । खाडीका यी पाँच देशमा तीन वर्ष यता नेपालीको केन्द्रिकरण अझ बढ्दै गएको देखिन्छ । तीन वर्ष अघि कुल वैदेशिक रोजगारीमा जानेमध्ये ५४ प्रतिशतभन्दा कम मान्छेहरु त्यहाँ पुगेका थिए । २०८० को आर्थिक वर्षमा त्यो संख्या बढेर ७० प्रतिशत नाघ्यो भने २०८१/८२ मा त ७६ प्रतिशतभन्दा पनि बढी भयो ।

चालू आर्थिक वर्षमा पनि युद्ध शुरु हुनुअघिसम्म ती देशहरुमा जाने लर्को कम भएको थिएन ।

यसरी पछिल्ला तीन आर्थिक वर्षमा कुल २३ लाख ५१ हजार ८९० जनालाई श्रम स्वीकृति दिइएकोमध्ये १५ लाख ७१ हजार ८०६ जनालाई खाडीका ५ देशका लागि श्रम स्वीकृति दिइएको सरकारी आँकडा छ । यो भनेको ६६.८३ प्रतिशत हो ।

यस क्षेत्रको अर्को राम्रो आँकडा चाहीँ महिला सहभागिता पनि हो । साउदी अरबमा नेपाली महिला नगन्य हुँदा हुँदै पनि विगत तीन वर्षमा श्रम स्वीकृति लिएर बाहिरिएकामध्ये ६२ प्रतिशतभन्दा बढी महिलाको गन्तव्य खाडीका यिनै देशहरु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्