१ महिनामा ४८ हजार पर्यटक अन्नपूर्णमा, नेपाल आउँने विदेशीमध्ये ४० प्रतिशत
गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् ।
सन् २०२५ को मार्च महिनाको तुलनामा यस वर्ष ११ हजार ६७९ पर्यटक बढको आयोजना प्रमुख डा रविन कडरियाले बताए । पछिल्लो समय यस क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भइरहेको उनको भनाइ छ । “नेपाल भित्रने विदेशी पर्यटकमध्ये ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको भ्रमणमा आउने गरेका तथ्याङ्कले देखाएको छ”, उनले भने, “यहाँ आउने दक्षिण एसियाली पर्यटकमा भारतीयको सङ्ख्या बढी छ ।”
सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् ।













