आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर्याउन चुनौती
काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै आएको छ । सिँचाइको संस्थागत विकासका क्रममा नहर विभाग, सिँचाइ तथा खानेपानी विभाग, सिँचाइ तथा जलवायु विज्ञान विभाग हुँदै २०४४ सालमा सिँचाइ विभागमा रुपान्तरण भएको थियो ।
विसं २०७२ मा नेपालको संविधान जारी भएपश्चात् सिँचाइ विभाग र जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग खारेज गरेर २०७५ सालमा जलस्रोत तथा सिँचाइ विभागको स्थापना भएको थियो ।
नेपालको इतिहासमा पहिलोपटक सरकारीस्तरबाट १९७९ सालमा ‘चन्द्र नहर’को निर्माण सुरुआत भएर १९८५ सालमा सम्पन्न भएको थियो । यसलाई नै पहिलो आधुनिक तथा सबैभन्दा पुरानो सिँचाइ प्रणाली मानिन्छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेर जवराको विशेष पहलमा बनेको सो नहरको प्राविधिक नेतृत्व (चिफ इन्जिनियर) शाही सेनाका महासेनानी डिल्लीजङ्ग थापाले गरेका थिए ।













