काठमाडौंमा चौथो ‘एपाक आइपीभी सिक्स काउन्सिल मीट’ आयोजना हुने
काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा विगत २५ वर्षदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सुबिसु लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको महत्त्वपूर्ण सम्मेलन चौथो ‘एपाक आइपीभी सिक्स काउन्सिल मीट’ आयोजना गर्ने भएको छ।
आगामी अप्रिल ९ र १० मा आयोजना हुने यो दुई दिने सम्मेलनले सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्र गतिमा साकार पार्न एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।
यस सम्मेलनले नेपाललाई एसिया-प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विमर्शको केन्द्रमा स्थापित गर्ने विश्वास लिइएको छ। सम्मेलनमा फाइभजी, स्मार्ट शहरहरू र ठूला औद्योगिक स्वचालनका लागि आवश्यक पर्ने आईपीभी ६ को भूमिका र यसले प्रदान गर्ने असीमित ठेगानाहरूका बारेमा अनुभव साटासाट गरिनेछ।
यस वर्षको सम्मेलन विशेषगरी इन्टरप्राइज नेटवर्क आर्किटेक्चर मा आईपीभी ६ को व्यावहारिक प्रयोगमा केन्द्रित रहनेछ। विश्वभरका संस्थाहरू क्लाउड-आधारित र सुरक्षित नेटवर्क वातावरणतर्फ अघि बढिरहेको सन्दर्भमा, आईपीभी ६ को प्रयोग अब केवल प्राविधिक सुधार मात्र नभई एक रणनीतिक आवश्यकता बनिसकेको विषयमा छलफल हुनेछ। साथै, नेटवर्कहरूमा बढ्दो साइबर खतराका बारेमा पनि विशेषज्ञहरूले ध्यानाकर्षण गराउनेछन्।
सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय कीनोट स्पीकरहरू एवं विभिन्न क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहनेछ। कार्यक्रमको पहिलाे दिन “ग्लोबल एडप्टेसन, इनसाइट्स एन्ड सेपिङ योर आइसिटी इकोसिस्टम विथ आइपीभी सिक्स” थिममा कार्यक्रम हुनेछ भने दाेस्राे दिनकाे थिम “इम्पावरिङ योर इन्टरप्राइज नेटवर्क थ्रु आइपीभी सिक्स एन्ड डीएनएस सेक डिप्लोयमेन्ट” रहेकाे छ।
सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउदले यस सम्मेलनले संस्थाहरूलाई भविष्यका लागि सक्षम र सुरक्षित नेटवर्क पूर्वाधार निर्माण गर्न सही मार्गदर्शन गर्ने बताए। याे सहभागीहरूले अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक विशेषज्ञता हासिल गर्ने यो उत्कृष्ट अवसर रहेकाे भन्दै यसले आगामी दिनमा नेपालले अवलम्बन गर्ने नयाँ नेटवर्क नीतिहरूमा समेत महत्त्वपूर्ण सहयोग पुर्याउनेछ।













