जिमेलमा २२ वर्षपछिको ठूलो बदलाव: के हो नयाँ सुविधा र किन डराउँदैछन् सुरक्षा विज्ञहरू ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जिमेलमा २२ वर्षपछिको ठूलो बदलाव: के हो नयाँ सुविधा र किन डराउँदैछन् सुरक्षा विज्ञहरू ?



काठमाडौं । विश्वकै लोकप्रिय इमेल सेवा प्रदायक गुगलले आफ्ना २ अर्ब जिमेल प्रयोगकर्ताका लागि एउटा बहुप्रतिक्षित सुविधा ल्याएको छ।

अब प्रयोगकर्ताले सन् २००४ मा जिमेल सुरु गर्दा बनाएका ‘अप्ठ्यारा’ वा ‘केटाकेटीपन’ झल्किने पुराना इमेल ठेगानाहरूलाई बदलेर नयाँ र व्यावसायिक नाम राख्न सक्नेछन्।

गुगलका सिइओ सुन्दर पिचाईले यसको घोषणा गर्दै भने, “सन् २००४ राम्रो वर्ष थियो, तर तपाईंको इमेल ठेगाना त्यहीँ अड्किरहनु पर्छ भन्ने छैन।”

यसअघि एकपटक बनाएको जिमेल ठेगाना परिवर्तन गर्न असम्भव जस्तै थियो। तर नयाँ व्यवस्था अनुसार प्रयोगकर्ताले आफ्नो गुगल एकाउन्टको सेटिङमा गएर उपलब्ध भएसम्म नयाँ नाम छान्न सक्नेछन्।

नयाँ ठेगाना रोज्दा पनि पुरानो ठेगानामा आउने इमेलहरू भने साविक बमोजिम नै प्राप्त भइरहने गुगलले जनाएको छ।

विशेषगरी विद्यालय वा कलेज पढ्दा बनाएका इमेलहरू अहिलेको जागिरे जीवनमा अमिल्दो महसुस गर्ने ‘मिलिनियल्स’ पुस्ताका लागि यो फिचर निकै उपयोगी हुने देखिएको छ।

यद्यपि, साइबर सुरक्षा विज्ञहरूले भने यो परिवर्तन मात्र पर्याप्त नभएको भन्दै प्रयोगकर्तालाई सचेत गराएका छन्।

इसेटका विज्ञ जेक मूरका अनुसार, प्रयोगकर्ताले नयाँ ठेगाना प्रयोग गर्न थाले पनि यदि त्यसलाई जथाभाबी मार्केटिङ साइट वा शंकास्पद एपहरूमा साइन-इन गर्न प्रयोग गरेमा त्यो तुरुन्तै स्पाम र स्क्यामरहरूको सूचीमा पुग्नेछ। इमेल ठेगाना परिवर्तन हुनुलाई अनलाइन पहिचानको क्षेत्रमा ठूलो फड्को मानिए पनि सुरक्षाको दृष्टिकोणले यसले सबै समस्या समाधान नगर्ने विज्ञहरूको तर्क छ।

सुरक्षाको सन्दर्भमा एप्पलले आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराएको ‘हाइड माई इमेल’ जस्तै सुविधा गुगलले ल्याउन नसक्नुलाई एउटा कमजोरीको रूपमा हेरिएको छ।

एप्पलको यो फिचरले प्रयोगकर्तालाई जथाभाबी साइन-इन गर्दा अस्थायी इमेल ठेगाना प्रयोग गर्ने सुविधा दिन्छ, जसले गर्दा उनीहरूको मुख्य इमेल ठेगाना सुरक्षित रहन्छ।

गुगलले पनि यस्तै खालको ‘प्रोक्सी’ वा अस्थायी इमेलको सुविधा विकास गरिरहेको भए पनि अहिलेसम्म सबैका लागि खुला गरिसकेको छैन।

अर्कोतर्फ, पुरानो इमेल ठेगाना पनि सक्रिय रहिरहने हुँदा ‘फिसिङ’ आक्रमण र एकअर्काको पहिचान चोरी हुने जोखिम बढ्न सक्ने चेतावनी समेत दिइएको छ।

विज्ञहरूका अनुसार इमेल ठेगाना परिवर्तन गर्नु एउटा अवसर त हो, तर आफ्नो इनबक्सलाई सुरक्षित र सफा राख्न प्रयोगकर्ताले आफ्नो प्राथमिक इमेल जथाभाबी वितरण गर्नबाट बच्नु नै उत्तम उपाय हुनेछ।


प्रतिक्रिया दिनुहोस्