सुस्ताएको अर्थतन्त्रमा ५८ खर्बको कर्जा प्रवाह, बैंकहरूको यो लगानी जोखिम कि अवसर ?
काठमाडौँ । लामो समयको सुस्ततापछि नेपालको अर्थतन्त्र क्रमिक सुधारको दिशामा अघि बढिरहेको छ। बाह्य क्षेत्रमा उत्साहजनक सुधार देखिए पनि आन्तरिक उत्पादन र मागमा देखिएको सुस्तताका बीच बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक गतिविधिलाई चलायमान बनाउन कर्जा प्रवाहमा रणनीतिक विस्तार गर्न थालेका हुन्।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न क्षेत्रमा कुल ५८ खर्ब १३ अर्ब ९० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको ५५ खर्ब ९२ अर्बको तुलनामा करिब ४ प्रतिशतको सकारात्मक वृद्धि हो।
यस अवधिमा सबैभन्दा उत्साहजनक वृद्धि खानीजन्य उद्योग क्षेत्रमा देखिएको छ। अघिल्लो वर्ष ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँ रहेको यस क्षेत्रको कर्जा चालू वर्षको सोही अवधिमा ११.७ प्रतिशतले बढेर १३ अर्ब १३ करोड १० लाख रुपैयाँ पुगेको छ।
पूर्वाधार निर्माणका लागि आवश्यक कच्चा पदार्थको माग बढ्दा यस क्षेत्रमा बैंकहरूको लगानी आक्रामक देखिएको हो।
यस्तै, व्यक्तिगत तथा घरायसी प्रयोजनका लागि प्रवाह हुने उपभोग्य कर्जा क्षेत्रमा पनि १०.५ प्रतिशतको वृद्धि भएको छ। अघिल्लो वर्ष ११ खर्ब ५२ अर्ब ६५ करोड रहेको यो कर्जा हाल १२ खर्ब ७३ अर्ब २० करोड रुपैयाँ पुगेको छ।
भौतिक पूर्वाधारको मेरुदण्ड मानिने निर्माण क्षेत्रमा पनि बैंकहरूले लगानी बढाएका छन्। अघिल्लो वर्षको तुलनामा यस क्षेत्रमा ८.८ प्रतिशतले कर्जा वृद्धि भई २ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, यातायात, सञ्चार र सार्वजनिक सेवाको क्षेत्रमा पनि ७.८ प्रतिशतको विस्तार देखिएको छ। अघिल्लो वर्ष ४ खर्ब ७६ अर्ब ६१ करोड रहेको यो क्षेत्रको कर्जा हाल ५ खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
औद्योगिक मेसिनरी र प्रविधिको क्षेत्रमा पनि सुधार देखिएको छ। धातुका सामान, मेसिनरी तथा इलेक्ट्रोनिक औजार क्षेत्रमा ५.३ प्रतिशतले कर्जा बढेर ७६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ पुगेको छ।
यसैगरी, उत्पादनमूलक उद्योग क्षेत्रमा करिब ३ प्रतिशतको वृद्धि हुँदै ९ खर्ब ३३ अर्ब ४७ करोड रुपैयाँ लगानी पुगेको छ। पर्यटन र आतिथ्य सत्कारसँग जोडिएको सेवा उद्योग क्षेत्रमा पनि १.८ प्रतिशतले कर्जा विस्तार भएर ४ खर्ब ९७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार क्षेत्रमा कर्जा प्रवाह ०.८ प्रतिशतले मात्र बढेर १० खर्ब ४१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। यस्तै, यातायात उपकरण उत्पादन र जडान क्षेत्रमा १.२ प्रतिशतको वृद्धि भई ५२ अर्ब ९७ करोड लगानी पुगेको छ।
यता कृषि, वन र मत्स्यपालन क्षेत्रमा प्रवाह हुने कर्जा भने करिब २.१ प्रतिशतले घटेर ४ खर्ब ९ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ।वित्त, बीमा र घरजग्गा क्षेत्रको कर्जा २.७ प्रतिशतले घटेर ४ खर्ब २९ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ भने स्थानीय सरकार शीर्षकमा प्रवाह हुने कर्जा पनि ०.४ प्रतिशतले घटेर १ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ।
यी माथिका क्षेत्रबाहेक अन्य विविध अन्य क्षेत्रहरूमा ३ खर्ब २० अर्ब ४६ करोड रुपैयाँ लगानी भएको राष्ट्र बैंककाे तथ्यांकले देखाएकाे छ।













