यी तीन प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले देशका विभिन्न भू-भागमा बदली र वर्षाको अवस्था देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने बाँकी भू-भागमा साधारणतया बदलीको अवस्था छ। हाल बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली हुने देखिएको छ। कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसममा आएको यो परिवर्तनले पहाडी भेगको जनजीवनमा सामान्य असर पर्न सक्ने अनुमान गरिएको छ।
आज राति भने कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरू र बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।













