यूनाइटेड अजोड इन्स्योरेन्सको १० प्रतिशत हकप्रद शेयर निष्काशन आजदेखि बिक्री खुला
काठमाडाैं । आज (चैत २६ गते) देखि यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न लागेको हो। जसअनुसार, इन्स्योरेन्सका शेयरधनीहरूले आफूसँग भएको प्रत्येक १०० कित्ता शेयर बराबर थप १० कित्ता नयाँ शेयरका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य २३ करोड १० लाख रुपैयाँ बराबर रहेको छ। यस निष्काशनका लागि इन्स्योरेन्सले गत फागुन १७ गते बुकक्लोज गरिसकेको छ। तसर्थ, फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र यो हकप्रद भर्नका लागि योग्य ठहरिनेछन्।
योग्य शेयरधनीहरूले यस हकप्रद शेयरका लागि आगामी २०८३ वैशाख १६ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। कम्पनीले पूँजी वृद्धि गर्ने योजना अनुरूप यो शेयर निष्काशन गर्न लागेको हो।
















