भोलिदेखि इस्लामाबादमा हुने इरान-अमेरिका वार्तामा इरानले अघि सारेका १० शर्त के हुन्? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भोलिदेखि इस्लामाबादमा हुने इरान-अमेरिका वार्तामा इरानले अघि सारेका १० शर्त के हुन्?



काठमाडौँ । इरान र अमेरिकाबीच जारी तनावलाई कम गर्न दुई हप्ताको अस्थायी युद्धविराम घोषणा भएपछि अब सबैको ध्यान कुटनीतिक संवादतर्फ मोडिएको छ।

युद्धविरामलाई स्थायी बनाउनका लागि भोलि (शुक्रबार) देखि पाकिस्तानको इस्लामाबादमा इरान र अमेरिकाबीच उच्चस्तरीय वार्ता हुने तय भएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको मध्यस्थतामा हुन लागेको यस ऐतिहासिक वार्ताका लागि इरानले १० बुँदे ठोस शर्तहरू अघि सारेको छ, जसलाई अमेरिकी प्रशासनले पनि प्रारम्भिक छलफलका लागि आधार मानेको छ।

इस्लामाबादमा हुने उच्चस्तरीय वार्तामा इरानले राखेका १० शर्तहरूः

पूर्ण युद्ध अन्त्यको ग्यारेन्टी: इरानले केवल अस्थायी युद्धविराम नभई, इरान विरुद्धको युद्ध पूर्ण र स्थायी रूपमा अन्त्य हुनुपर्ने पहिलो शर्त राखेको छ।

क्षेत्रीय युद्धको अन्त्य: इरानले इराक, लेबनान र यमनमा भइरहेका सबै सैन्य कारबाहीहरू तुरुन्त र पूर्ण रूपमा बन्द हुनुपर्ने माग गरेको छ।

हर्मुज जलसन्धिमा इरानी नियन्त्रण: विश्वको २० प्रतिशत तेल आपूर्ति हुने हर्मुज जलसन्धि खोल्न इरान तयार भए पनि त्यहाँको सुरक्षा र नियमनमा इरानको पूर्ण अधिकार र निगरानी रहने प्रोटोकल हुनुपर्ने शर्त राखेको छ।

सबै प्रतिबन्धहरूको खारेजी: अमेरिकाले इरानमाथि लगाएका प्राथमिक र दोस्रो तहका सबै आर्थिक तथा राजनीतिक प्रतिबन्धहरू पूर्ण रूपमा हटाउनुपर्ने इरानको माग छ।

फ्रोजन एसेट्स (रोक्का सम्पत्ति) फुकुवा: अमेरिका र अन्य देशहरूमा रोक्का गरिएका इरानका सबै बैंक खाता र अर्बौँ डलर बराबरको सम्पत्ति तुरुन्त फिर्ता गर्नुपर्ने।

अमेरिकी सेनाको फिर्ती: मध्यपूर्वका सबै सैन्य आधार शिविरहरूबाट अमेरिकी लडाकु दस्ता र सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने।

क्षतिपूर्तिको माग: युद्धका कारण इरानको पूर्वाधारमा भएको विनाशको पुनर्निर्माणका लागि अमेरिकाले पूर्ण क्षतिपूर्ति तिर्नुपर्ने शर्त इरानले अघि सारेको छ।

आणविक अधिकार: इरानले आफू परमाणु हतियार निर्माणको पक्षमा नरहेको प्रतिबद्धता जनाउँदै तर शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम संवर्धन गर्न पाउने आफ्नो अधिकारलाई मान्यता दिनुपर्ने बताएको छ।

सहयोगी समूहमाथिको आक्रमण बन्द: इरानका क्षेत्रीय सहयोगी समूहहरू (Allies) माथि भइरहेका सबै किसिमका आक्रमण र सैन्य दबाब बन्द गरिनुपर्ने।

संयुक्त राष्ट्रसंघको ग्यारेन्टी: यो सम्झौतालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् (युएनएससी) बाट पारित गराई अन्तर्राष्ट्रिय कानुन बमोजिम बाध्यकारी बनाउनुपर्ने इरानको अन्तिम शर्त रहेको छ।

इरानले अघि सारेका यी १० कडा शर्तहरू र अमेरिकाको वर्तमान ‘न्यूनतम लचिलोपन’ को नीतिका बीच शुक्रबारको वार्ता सफल हुने सम्भावना निकै चुनौतीपूर्ण देखिन्छ।

एकातिर इरानले अमेरिकी सेनाको पूर्ण फिर्ती र अर्बौँ डलरको क्षतिपूर्ति जस्ता मागहरू राखेको छ, जुन ट्रम्प प्रशासनका लागि सहजै स्वीकार्य हुने देखिँदैन भने अर्कोतिर, इजरायलले इरानको मुख्य सहयोगी समूह हिज्बुल्लालाई लक्षित गरी लेबनानमा गरिरहेको आक्रमण नरोक्ने स्पष्ट अडान लिएको छ, जसले वार्ताको वातावरणलाई झनै जटिल बनाएको छ।

यद्यपी हर्मुज जलसन्धि खोल्ने र आणविक हतियार नबनाउने शर्तमा अमेरिकाले केही आर्थिक प्रतिबन्धहरू खुकुलो पार्ने लेनदेनको मध्यमार्गी बाटो फेला पार्न सक्ने झिनो आशा छ।

त्यसैले, यो वार्ताबाट तुरुन्तै सबै मुद्दामा स्थायी समाधान निस्कनुभन्दा पनि हालको युद्धविरामलाई केही हप्ता थप गर्ने र संवादको ढोका खुल्ला राख्ने याे वार्ताले भुमिका खेल्ने विश्लेषण गरिएकाे छ।


प्रतिक्रिया दिनुहोस्