बजारमा अधिक तरलता कायमै, आज थप १ खर्ब २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज शुक्रबार पुनः १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
लामो समयदेखिको आर्थिक शिथिलता र पछिल्लो समयका केही असहज परिस्थितिका कारण बैंकहरूबाट अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसकेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत यो ठुलो परिमाणको रकम बजारबाट खिच्न लागेको हो।
यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनका लागि आजै (२०८२ चैत २७ गते) दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल हुने बैंकले जनाएको छ। ५ दिनको अवधिका लागि संकलन गर्न लागिएको यस निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८३ वैशाख २ गते गरिनेछ।
बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन्।
रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखिने र समान ब्याजदर भएमा ‘प्रो-राटा बेसिस’ मा बाँडफाँट गरिने छ। यसरी संकलन गरिएको रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दात मा गणना गर्न नपाए पनि वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न पाउनेछन्।













