एलजीले सार्वजनिक गर्यो एसियाली बजार लक्षित कृत्रिम बौद्धिकतायुक्त उपकरणहरू
एलजी इलेक्ट्रोनिक्सले दक्षिण कोरियाको बुसानमा ‘एलजी इन्नोफेस्ट २०२६’ आयोजना गर्दै एसिया-प्रशान्त क्षेत्रका लागि आफ्नो नयाँ व्यावसायिक रणनीति र अत्याधुनिक प्रविधिहरू सार्वजनिक गरेको छ।
अप्रिल ७ देखि १० सम्म सञ्चालन भएको यस विशेष कार्यक्रममा एसियाका २० देशका २०० भन्दा बढी व्यावसायिक साझेदार र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो, जहाँ कम्पनीले एसियाली उपभोक्ताको जीवनशैली सुहाउँदो ‘के-टेक’ आविष्कार र कृत्रिम बौद्धिकतामा आधारित घरेलु समाधानहरू प्रदर्शन गरेको छ।
यसैगरी कम्पनीले एसियाली साना घरहरूलाई लक्षित गर्दै थोरै ठाउँ ओगट्ने नयाँ ‘वासटावर’ र लुगा धुने उपकरणहरूको विस्तृत श्रृंखला प्रस्तुत गरेको छ। यी मेसिनहरूमा जडान गरिएको कृत्रिम बौद्धिकताले कपडाको प्रकार र फोहोरको अवस्था पहिचान गरी आफैं धुने उपयुक्त विधि चयन गर्छन् भने नयाँ प्रविधिले ३० मिनेटभन्दा कम समयमै लुगा धोएर सक्ने र बिजुलीको खपत समेत उल्लेख्य रूपमा घटाउने दाबी गरिएको छ।
यस्तै भान्साका लागि एलजीले नयाँ डिजाइनका फ्रिज र भाँडा धुने मेसिनहरू सार्वजनिक गरेको छ, जसले थोरै ठाउँमा धेरै सामान भण्डारण गर्ने र एकै घण्टामा भाँडा धोएर सुकाउने क्षमता राख्छन्। विशेषगरी दक्षिण-पूर्वी एसियाली बजारका लागि ल्याइएको क्यामेरा जडित ओभनले भित्र रहेको खानेकुरा चिन्नुको साथै त्यसलाई पकाउने सही तरिका सुझाउँछ र खानेकुरा पाकेको रङ हेरेर निगरानी समेत गर्दछ।
यसका साथै कम्पनीले आफ्ना उत्पादनहरूलाई केवल बिक्रीमा मात्र सीमित नराखी निश्चित शुल्कमा प्रयोग गर्न र मर्मत सम्भारको सुविधा लिने गरी ‘सब्स्क्रिप्सन’ मोडललाई पनि विस्तार गर्ने योजना बनाएको छ। मलेसिया, थाइल्याण्ड र सिंगापुर जस्ता देशहरूमा यो सेवा सुरु भइसकेको छ भने ‘थिनक्यू अन’ हबमार्फत घरका सबै उपकरणहरूलाई एकआपसमा जोडेर चलाउन मिल्ने नयाँ प्रविधिलाई चरणबद्ध रूपमा एसियाभर लैजाने लक्ष्य राखिएको छ।
यसरी प्रविधि र सेवाको मिश्रणमार्फत एलजीले एसियाली बजारमा आफ्नो पकड बलियो बनाउने रणनीति लिएको छ। प्रदर्शनीमा कोरियाली नाटकहरूबाट प्रेरित घरका नमुनाहरू बनाएर उपकरणहरूको प्रयोग देखाइएको थियो, जसले सहभागीहरूलाई नौलो अनुभव प्रदान गरेको थियो। एलजी एसिया प्यासिफिकका क्षेत्रीय प्रमुख जेसेङ किमले स्थानीय जीवनशैली र आवश्यकतालाई ध्यानमा राखेर नै कम्पनीले आगामी दिनमा आफ्ना नयाँ आविष्कारहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।













