इरान, इजरायल, कुवेतसहित पश्चिम एसियाका केहि देशमा पुनः श्रम स्वीकृति खुलाउन सिफारिस
काठमाडाैं । परराष्ट्र मन्त्रालयको आकस्मिक कार्य टोली (ईआरटी) ले पश्चिम एसियाली मुलुकहरूमा लगाइएको वैदेशिक रोजगारीको प्रतिबन्ध हटाउन श्रम मन्त्रालयलाई सुझाव दिएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा सम्पन्न पाँचौँ बैठकले पछिल्लो समय त्यस क्षेत्रको सुरक्षा अवस्थामा सुधार आएको विश्लेषण गर्दै स्थगित श्रम स्वीकृति पुनः सुचारु गर्न सिफारिस गरेको हो ।
यसअघि फागुन १७ गते श्रम मन्त्रालयले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल गरी १२ वटा देशमा कामदार पठाउन रोक लगाएको थियो। यद्यपि, केही समयपछि चैत ३ गते साउदी र कतारसहित सात देशका लागि मात्रै पुनः श्रम स्वीकृति दिने निर्णय गरिएको थियो।
हाल ईआरटीले बाँकी रहेका मुलुकहरूमा पनि क्रमशः श्रम स्वीकृति खुला गर्नुपर्ने निष्कर्ष निकालेको छ। द्वन्द्वरत पक्षहरूबीच अस्थायी रूपमा युद्धविराम भएको र जनजीवन सामान्यतर्फ फर्कन थालेकाले निगरानीमा राख्ने गरी प्रक्रिया अघि बढाउन सिफारिस गरिएको हो।













