हेमराज ढकाललाई चुनाव अघि नै बरिष्ठ उपाध्यक्ष घोषणा, तर कसरी ?
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव झण्डै एक महिना पछि सारिएको भोलिपल्टै उक्त महासंघको वेवसाइटमा भने नयाँ कार्यसमिति अस्तित्वमा आइसकेको जनाउने गरी पदाधिकरीको सूची नै सार्वजनिक भएको पाइएको छ ।
उक्त नयाँ कार्यसमिति अञ्जन श्रेठको नेतृत्वमा भएको देखाइएको छ । उनी पहिले नै भावि अध्यक्षका रुपमा सुनिश्चित भएका कारण उनलाई अध्यक्ष देखाइनु नै अचम्म होइन । तर सबैभन्दा रोचक कुरा चाहीँ उक्त नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष हेमराज ढकाल रहेको उल्लेख गरिएको छ । जबकी, अहिलेको कार्यकालका बरिष्ठ उपाध्यक्ष अञ्जन नै हुन् ।
उक्त वेवपेजमा वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकाललाई निवर्तमान अध्यक्ष भनिएको छ ।
उमेश डाल्मिया, कल्पना गैरे, कृष्णप्रसाद शर्मा, दिलसुन्दर श्रेष्ठ, सञ्जिव कोइराला, नरेशलाल प्रधान, ज्योत्सना श्रेष्ठ, प्रवलजंग पाण्डे र सुरकृष्ण वैद्यलाई उपाध्यक्षको रुपमा देखाइएको छ । भरतराज आचार्यलाई अहिलेजस्तै कोषाध्यक्षको रुपमा देखाइएको छ ।
यसले विभिन्न पदाधिकारीमा उमेदवारी दिएका व्यक्तिहरुको सूची बनाएजस्तो देखिन्छ । तर अहिले नै यो पेज ‘प्रकाशित’ हुनुले मान्छेहरुमा भ्रम उत्पन्न हुने देखिन्छ ।
सरसर्ति हेर्दा महासंघको यो पेजले अहिलेको सबैभन्दा चोटिलो मुद्दा अर्थत् बरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको एकल नाम उल्लेख गरेर मान्छेहरुलाई भ्रमित पार्ने जोखिम रहेको देखिएको छ ।
तपाईँ यो नयाँ सूची यो लिंकमा गएर हेर्न सक्नु हुन्छ । यदी तपाइँलाई महासंघको वेवसाइटमै यो तथ्य जाँच गर्न मन छ भने यहाँ क्लिक गर्नुहोस् ।
नोट : अर्थपथमा यो समाचार प्रकाशित भएपछि महासंघले आफ्नो वेवसाइट ‘अपडेट’ गरेर पुरानो कार्यसमितिको सूची राखेको छ ।
















