अर्थपथ प्रभाव : महासंघले हटायो नयाँ कार्यसमितिको सूची
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो वेवसाइटलाई अध्यावधिक गर्दै हेमराज ढकाललाई बरिष्ठ उपाध्यक्ष घोषणा गरेर प्रकाशित भएको सूची हटाएको छ । यसअघि सन् २०२६ देखि २०२९ सम्मका लागि कार्यकारिणी समिति भनेर अञ्जन श्रेष्ठ नेतृत्वको कार्यसमितिको सूची सार्वजनिक भएको थियो ।
तर त्यही लिंक अहिले खोल्दा सन् २०१४ देखि १७ का बीचमा रहेको पशुपति मुरारका नेतृत्वको समिति ‘अपडेट’ भएको छ । यो त्यही कार्यसमिति हो, जसको अध्यक्ष प्रदीपजंग पाण्डे थिए । तर उनलाई झुठो मुद्दा लगाएर जेल हालियो र तत्कालिन बरिष्ठ उपाध्यक्ष मुरारकालाई अध्यक्ष घोषणा गरियो । त्यही कार्यसमितिले महासंघको बरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने गरी विधान संशोधन गर्यो ।
त्यतिमात्रै नभएर भवानी राणालाई कार्यसमितिले नै नयाँ ‘बरिष्ठ उपाध्यक्ष’ चुन्यो । यही घटनादेखि महासंघमा ‘स्वत: अध्यक्ष’ बन्ने परिपाटी सुरु भएको थियो । यो व्यवस्थालाई खारेज गरेर ‘स्वत: अध्यक्ष’ नहुने गरी यो साल पहिलो चोटी बरिष्ठ उपाध्यक्षको निर्वाचन हुँदै छ । अब बन्ने बरिष्ठ उपाध्यक्षले अध्यक्ष हुन चाहने हो भने ३ वर्ष पछि फेरि ‘पैसा खर्च गरेर’ अध्यक्षमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
अर्थपथ डटकमले शनिबार अञ्जन श्रेष्ठ अध्यक्ष र हेमराज ढकाल बरिष्ठ उपाध्यक्ष भएको कार्यसमिति प्रकाशित गरिएको बारे खबर छापेको थियो । महासंघको आगामी साधारण सभा करीब एक महिना पर सारेर वैशाख तेस्रो हप्ता पुर्याउने निर्णय भएको भोलिपल्टै यस प्रकारको विवरण प्रकाशित भएपछि अर्थपथले खबर छापेको हो ।
यो घटना ‘आशातित’ नै थियो । त्यसैले हामीले ‘स्क्रिन–शट’ राखेका थियौँ, जुन तपाइँले तलको समाचारबाट हेर्न सक्नुहुन्छ ।
















