भारतीय सङ्गीत जगतकी महान् हस्ती आशा भोसलेको निधन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भारतीय सङ्गीत जगतकी महान् हस्ती आशा भोसलेको निधन



काठमाडाैं । भारतीय सङ्गीत जगत्की महान् हस्ती तथा प्रसिद्ध पार्श्व गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।

‘चुरा लिया है तुमने जो दिल को’ र ‘केहदुँ तुम्हे’ जस्ता कालजयी गीतहरू मार्फत विश्वभरका करोडौँ श्रोताको मन जित्न सफल भोसलेको निधनसँगै सङ्गीतको एउटा स्वर्ण युगको अन्त्य भएको छ। उनको निधनको पुष्टि छोरा आनन्द भोसलेले गरेका छन्।

केही समयदेखि अत्यधिक थकान र छातीको संक्रमणबाट पीडित भोसलेलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार उनकाे निधन भएकाे हाे।

साेमबार बिहान ११ बजेदेखि उनको निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिने उनका छाेराले जानकारी दिएकाे भारतिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । त्यसपछि भोसलेको अन्तिम संस्कार सोमबार दिउँसो ४ बजे मुम्बईको प्रसिद्ध शिवाजी पार्कमा गरिनेछ। राज्य सरकारले उनको सम्मानमा विशेष व्यवस्था गर्ने तयारी समेत गरेको छ।

सात दशकभन्दा लामो सङ्गीतिक यात्रामा हजारौँ गीत गाएकी भोसलेले हिन्दी बाहेक थुप्रै क्षेत्रीय र विदेशी भाषाहरूमा पनि आफ्नो स्वर जादु छरेकी छन्। उनको निधनले भारत मात्र नभई नेपाल लगायत विश्वभरका सङ्गीत प्रेमीहरूलाई स्तब्ध बनाएको छ।

भोसलेले नेपाली चलचित्र माइतीघरकाे ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, नेपाली सेनाको वीरताको सम्मानमा गाइएको चर्चित गीत ‘अघि अघि बढ्दैछ पाइला’, गायक उदित नारायण झासँगको युगल गीत ‘तिम्रो मनमा लुकेको कुरा’, मलाई त खुत्रुक्कै पार्‍यो तिम्रो यो गाजलु आँखाले, ढाकाको टोपी शिरमा सुहाउँछ, फूलबारीमा एउटै फूल फक्रिएछ, ‘कान्छी हे कान्छी’, ‘माया त माया हो’ जस्ता चर्चीत नेपाली गित गाएकी छन् ।

सङ्गीत क्षेत्रमा उनको योगदानलाई कदर गर्दै ‘दादा साहब फाल्के’ र ‘पद्म विभूषण’ जस्ता उच्च सम्मानबाट सम्मानित गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्