अर्थमन्त्री वाग्लेको सम्पत्ती: ४ वटा घर, १ करोड ९० लाख नगद, ३ करोड ५५ लाख ऋण
काठमाडौं । ’बालेन क्याबिनेट’ का अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै करोडौँको घरजग्गा र बैंक मौज्दातसँगै उल्लेख्य ऋण समेत रहेको जानकारी दिएका छन् । वाग्लेको मुख्य सम्पत्ति काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा रहेका ४ वटा घर तथा अपार्टमेन्टहरू हुन् । जसको बजार मूल्य करोडौँ रुपैयाँ पर्दछ ।
सार्वजनिक विवरण अनुसार अर्थमन्त्री वाग्लेको नाममा ललितपुरको सानेपामा २ करोड मूल्यको अपार्टमेन्ट, ललितपुरकै अर्को स्थानमा ५ करोडको घर, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र तनहुँमा २ करोडको घर रहेको छ ।
यी सम्पत्तिहरूको प्राप्तिको स्रोतमा उनले आफ्नो अन्तर्राष्ट्रिय रोजगारीबाट भएको आम्दानी, निजी निवासको बिक्री र बैंकबाट लिइएको ऋणलाई उल्लेख गरेका छन् ।
आर्थिक अवस्थाको अर्को पाटो केलाउँदा, वाग्लेको विभिन्न बैंक खाताहरूमा कुल १ करोड ९० लाख रुपैयाँ नगद मौज्दात रहेको देखिएको छ । यसका अतिरिक्त उनीसँग ४५ तोला सुन रहेको छ । जुन उनले पारिवारिक र रोजगारीको आम्दानीबाट जोडेको बताएका छन् । उनीसँग ८४ लाख मूल्य बराबरको सुबारु एक्सभी कार समेत रहेको छ ।
यद्यपि, अर्थमन्त्री वाग्लेको थाप्लोमा ठूलो वैधानिक ऋण समेत रहेको विवरणले देखाउँछ । उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख रुपैयाँ र विभिन्न व्यक्तिहरूबाट २ करोड ५० लाख रुपैयाँ गरी कुल ३ करोड ५५ लाख रुपैयाँ ऋण लिएको खुलाएका छन् ।
साथै, उनले सानिमा मिडल तमोर हाइड्रो र सांग्रिला विकास बैंक लगायतका विभिन्न कम्पनीहरूमा करोडौँको शेयर लगानी समेत गरेका छन् । पारदर्शी रूपमा सार्वजनिक गरिएको यो विवरणले अर्थमन्त्रीको मजबुत लगानी र दायित्व दुवैलाई प्रस्ट पारेको छ ।













