५ वर्षमा ७२ प्रतिशतले बढ्यो घरजग्गा कर्जा, मधेसमा कारोबारको ‘बाढी’
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालमा घरजग्गा बजारको अवस्था’ सम्बन्धी प्रतिवेदनअनुसार विगत ५ वर्षमा घरजग्गा कर्जामा ७२.४१ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ४ लाख ५६ हजार कारोबार भएसँगै केही समयदेखि सुस्ताएको घरजग्गा क्षेत्रमा उल्लेख्य सुधारको संकेत देखिएको छ ।
तथ्यांकअनुसार संख्या र क्षेत्रफलका आधारमा मधेस प्रदेशमा घरजग्गा किनबेचको ’बाढी’ नै आएको देखिएको छ । जहाँ २० आनाभन्दा ठूला प्लटहरूको कारोबार बढी भएको छ ।
यद्यपि, घोषित मूल्य (थैली रकम) का आधारमा भने बागमती प्रदेश अझै पनि मुलुकमै अग्रस्थानमा रहेको छ । महानगर र उपमहानगर क्षेत्रमा विशेष गरी ५ देखि १० आनाका प्लटहरूको माग बढी देखिएको प्रतिवेदनले औंल्याएको छ ।
समीक्षा अवधिमा व्यक्तिगत आवासीय घर कर्जा पनि ६१.५५ प्रतिशतले बढेको छ । घरजग्गा क्षेत्रबाट प्राप्त हुने सरकारी राजस्वमा पनि सुधार देखिँदै आव २०७९/८० को ८.२ अर्बको न्यून विन्दुबाट बढेर आव २०८१/८२ मा करिब १५ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकले अहिले बजारमा घरजग्गाको वास्तविक मूल्य मापन र जोखिम न्यूनीकरणका लागि ‘घरजग्गा मूल्य सूचकांक’ निर्माणको दोस्रो चरणको काम सुरु गरेको छ ।
















