चिसापानीमा पोल गाड्न सुरु भएसँगै जाल्पादेवी केबलकारको अन्तिम तयारी
काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो सूर्योदय सुदूरपश्चिमको कैलालीका लागि केवल पात्रोको परिवर्तन मात्र रहेन, यसले कर्णालीको तटमा एउटा नयाँ औद्योगिक र पर्यटकीय आशाको सञ्चार पनि गरायो ।
नयाँ वर्षको पहिलो बिहानै आइएमई ग्रुपको लगानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजनाको पोल गाड्ने काम औपचारिक रूपमा सुरु भयो । झण्डै डेढ वर्षअघि सुरु भएको यो महत्वाकांक्षी सपना अब साकार हुने अन्तिम चरणमा पुगेको छ ।
चिसापानीको फेदीदेखि राजकाँडाको उचाइसम्म ३.१ किलोमिटर लामो रुटमा अबका दुई महिनाभित्रै केबलकारका गोन्डोलाहरू सयर गर्ने लक्ष्य राखिएको छ ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ वर्षको अवसर पारेर आयोजनाको प्रगतिबारे उत्साहजनक जानकारी साझा गरे । उनले यो परियोजनालाई आफ्नो व्यावसायिक लाभभन्दा माथि राखेर हेरेका छन् । ढकालले भने, “यो केवल एक परियोजना मात्र होइन, यसले क्षेत्रीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो ।”
उनले नयाँ वर्षको पहिलो दिनमै सुरु भएको यो कामले आफूहरूलाई नयाँ आशा र उपलब्धिको अझ दृढ विश्वास दिएको बताए । ढकालको यो विश्वासलाई २०८१ साल पुसको त्यो चिसो दिनसँग जोडेर हेर्न सकिन्छ, जब परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले यो परियोजनाको जग बसालेकी थिइन् ।
त्यतिबेला शिलान्यास गर्दै परराष्ट्र मन्त्री देउवाले यो केबलकारले सुदूरपश्चिमको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेकी थिइन् । कर्णाली चिसापानी क्षेत्र प्राकृतिक स्रोत र सांस्कृतिक एकताले सम्पन्न भए पनि पूर्वाधारको अभावमा ओझेलमा परेको उनको ठम्याइ थियो ।
सोही समयमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले यो केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई नयाँ उचाइ दिने भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरेका थिए ।

पाँच अर्ब रुपैयाँको कुल लगानीमा बन्न लागेको यो आयोजना प्राविधिक रूपमा पनि उत्तिकै सबल देखिन्छ । लम्की चुहाँ नगरपालिका–३ बाट सुरु भई मोहन्याल गाउँपालिका–७ को राजकाँडासम्म पुग्ने यस केबलकारमा ३४ वटा गोन्डोला रहनेछन् ।
आयोजनाको बटम स्टेसनमा केवल केबलकार मात्र हुने छैन, त्यहाँ सुविधासम्पन्न होटल, क्यासिनो र ब्याक्वेट हल पनि निर्माण हुनेछन् । टप स्टेसनमा पुग्ने पर्यटकहरूका लागि रिसोर्ट, मन्दिर, स्काई वक, र चिल्ड्रेन पार्कसहितको मनोरञ्जनात्मक प्याकेज तयार पारिएको छ ।
अध्यक्ष ढकालले नेपालको पर्यटन पूर्वाधारमा लगानी गरेर विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जना गर्ने आफ्नो दीर्घकालीन लक्ष्य रहेको बताए । उनले पर्यटन क्षेत्रले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी दिने र राज्यको राजस्वमा समेत उल्लेख्य योगदान पुर्याउने तर्क गरे ।
सुदूरपश्चिमको प्रवेशद्वारमा बन्दै गरेको यो आयोजनाले कर्णाली नदीको सुसाहटसँगै पर्यटकीय हलचललाई पनि तीव्रता दिने अपेक्षा गरिएको छ । अबको दुई महिनामा आयोजना सम्पन्न भएपछि यस क्षेत्रका नागरिकले आफ्नै दैलोमा अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय सुविधा उपभोग गर्न पाउनेछन् ।
स्थानीय समुदाय, राजनीतिक दल र सरकारी निकायको अभूतपूर्व सहयोगले नै यो परियोजना यति छिटो सम्पन्न हुने दिशामा अघि बढेको आयोजनाले बताएको छ ।













